काठमाडौं : मोरङ बेलबारी ४, बुधबारे बस्ने २६ वर्षीया रमिला राई गत फागुन १७ गते रातिदेखि सम्पर्कविहीन भइन् । उनी घर नफर्किएपछि परिवारले हुलियासहित खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दियो । हुलिया निवेदन दिने बेलामा नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङ पनि सँगै थिए । उनले पहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर आफ्नी प्रेमिका हराएको र आफू तनावमा रहेको बताइसकेका थिए । प्रहरीका अनुसार महिला हराएको रात नेकपाका स्थानीय नेता गुरुङ र महिला सँगै थिए ।
तर घटनामा ट्वीस्ट त्यतिबेला आयो, जब प्रेमिका हराएको भन्दै खोजीका लागि निवेदन दिने गुरुङ आफै बेलबारीबाट एकाएक हराए । त्यसपछि प्रहरीको शंका उनैप्रति सोझियो । अनि सुरु भयो गुरुङको खोजी । उनलाई खोज्दै जाँदा बेलबारीबाट फरार भइसकेका गुरुङले प्रयोग गर्नेे बा १५ प ७९१६ नम्बरको कार भने घरमै भेटियो ।
त्यसपछि प्रहरीले सक्रियता जारी राख्यो र एक हफ्तापछि उनलाई इलाममा फेला पारी पक्राउ गर्यो । उनलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए । प्रारम्भिक अनुसन्धानमा नेता गुरुङले नै महिलाको हत्या गरी फालेको हुन सक्ने देखिएकाे माेरङ प्रहरीले जानकारी दियाे ।
तर शव फेला पारेर सबै प्रमाण नजुटेसम्म यकीन गरेर भन्न नसकिने केसीले बताए । भने, ‘कर्तव्य गरेर हत्या गरेको पनि हुन सक्छ, कतै लुकाएको पनि हुन सक्छ, वा अन्य कतै बेपत्ता भएकी पनि हुन सक्छिन् । तर, प्रारम्भिक बयानका आधारमा चैं गुरुङले नै कर्तव्य गरेर हत्या गरी शव बेपत्ता पारेको हुन सक्ने देखिन्छ ।’
सबै सम्भावनाहरुलाई मध्यनजर गरी हरेक कोणबाट अनुसन्धान सुरु गरिएको केसीको भनाइ छ । गुरुङले प्रहरीमा दिएको बयानका आधारमा हत्या गरी कोसीमा बगाएको आशंका गरी शवको खोजी भइरहेको भए पनि फेला पार्न सकेको छैन । अनुसन्धानका क्रममा धेरै कुरा आए पनि प्रमाण जुटाउने क्रममा छ, मोरङ प्रहरी ।
बेलबारी निवासी राई श्रीमानसँग सम्बन्ध विच्छेद गरी माइतीमा बस्दै आएको इप्रका बेलबारीका निरीक्षक रामकुकार राईले जानकारी दिए । नेकपा नेता गुरुङका भने श्रीमती र छोराहरू काठमाडौंमा बस्दै आएको उनले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५