काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठानमा आज एक कार्यक्रमका बीच स्व. प्रतिमा पोखरेलको ‘चन्द्रमा छुँदा’ आत्मकथा विमोचन गरिएको छ ।
वि.सं. २००२ मा संखुवासभाको लिङलिङमा जन्मिएकी उनले आधारभूत आवश्यकता शिक्षाका लागि गर्नुपरेको संघर्षदेखि उनले धरानस्थित शारदा नमुना माध्यमिक विद्यालयको जिम्मेवारी सम्हालेर गरेको सुधारसम्मको विषयलाई सिलसिलाबद्ध रूपमा उनका परिवारले प्रस्तुत गरेका छन् ।
पुस्तकमाथि टिप्पणी गर्दै समालोचक डा. अर्चना थापाले प्रतिमाको जन्मदेखि त्यसबेला आधारभूत आवश्यकता शिक्षा पाउनका लागि संघर्ष गर्दागर्दै १४ वर्षको उमेरमा उनको विवाह भएको बताइन् । ‘विवाहपछि उनको जिम्मेवारी थपिन्छ तर उनी पढ्न छाड्दिनन् । उनको व्यस्तता कहिलेकाहीँ जुठो हातसँगै विद्यालय दौडनुपरेको घटनाले इच्छाको अगाडि केही लाग्दैन भनेर प्रेरणा दिन्छ ।’
उनी शिक्षण पेसामा लागेर बिग्रिँदो विद्यालयलाई एक नमुना विद्यालयको रूपमा चिनाउन सफल हुन्छिन् । उनले शिक्षण पेसा छाडेपछि पनि उनको समाजिक काम रोकिँदैन । गृह श्रमिकहरूको हकहितमा काम गर्दागर्दै उनको निधन भएको थापाले बताइन् ।
कार्यक्रममा वक्ताहरूले यो आत्मकथा आफूले समस्याको कारण देखाउँदै चाहेको जस्तो विषय र चाहेको जति पढ्न नपाएका गाउँघरका महिलाका लागि प्रेरणाको स्रोत बन्ने बताए ।
प्रतिमा पोखरेलले लेखेको उक्त आत्मकथा उनका परिवारका सदस्यहरूको पहलमा प्रकाशन गरी बजारमा ल्याइएको हो ।
पुस्तक बिक्रीबाट आएको रकम श्री शारदा नमुना माध्यमिक विद्यालय धरानको प्रतिमा पोखरेल स्मृति कोषमा जम्मा गरिने कार्यक्रममा जानकारी दिइयो ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५