एक पटक चीनका महान् दार्शनिक कन्फ्युसियस आफ्ना केही शिष्यसँगै ताई नामको पहाडी क्षेत्रमा हिँडिरहेका थिए । सो बाटो जाँदै गर्दा उनी अचानक बाटोमा रोकिन पुगे । गुरु रोकिएपछि शिष्यहरू पनि उभिए र जिज्ञासु आँखाले यताउता हेर्न थाले ।
कन्फ्युसियसले शिष्यलाई भने, ‘तिमीहरू ध्यानले सुन त, यता कतै कोही रोइरहेको छ ।’ यति भनेपछि उनी रोएको सुनिएको स्थानतिर फटाफट अघि बढे ।
शिष्यहरू पनि उनको पछि लागे । केही बेर हिँडेपछि उनले एउटी महिला जंगल नजिकै बसेर रोइरहेको भेटे । उनी त्यहाँ गए र सहानुभूतिपूर्वक रुनुको कारण सोधे । ती महिलाले आफ्ना एक मात्र छोरालाई चितुवाले मारेको सुनाइन् ।
यो सुनेपछि कन्फ्युसियसले भने, ‘तर तिमी यहाँ एक्लै देखिन्छ्यौ त ! तिम्रो परिवार कहाँ छ ?’ ती महिलाले जवाफ दिइन्, ‘मेरो परिवारमा अब कोही बाँकी छैन । मेरा पति र ससुरालाई पहिले नै चितुवाले आफ्नो सिकार बनाएको थियो । बाँकी भएको छोरालाई पनि चितुवाले खायो ।’
महिलाको यस्तो कुरा सुनेपछि कन्फ्युसियस झनै अचम्ममा परे र सोधे, ‘तिमी यस्तो डरलाग्दो स्थानबाट किन नभागेर यहीँ बसिरहेकी त ?’ ती महिलाले जवाफ दिइन्, ‘मैले यो स्थान यस कारण छाडिनँ कि यहाँ कसैको अत्याचारी शासन छैन ।’
यो सुनेर कन्फ्युसियस अझ अचम्ममा परे । ‘निश्चित रूपमा यी महिलालाई करुणा र सहानुभूति आवश्यक छ र उनी त्यसको हकदार छन् । तथापि, यिनको कुराले हामीलाई एउटा महान् सत्यसँग परिचित गरायो , कन्फ्युसियसले शिष्यतिर फर्किंदै भने, त्यो भनेको अत्याचारी शासक चितुवाभन्दा पनि डरलाग्दो हुनेरहेछ ।’
अत्याचारी शासनमा बस्नुभन्दा कुनै पहाडी क्षेत्र वा जंगलमा नै बस्नु उचित हुन्छ किनकि यहाँको व्यवस्था गोप्य हुन्छ । यद्यपि, जनताले अत्याचारी शासनको विरोध गर्नुपर्छ र सत्ताधारीलाई अत्याचारी शासनमा सुधार गर्नका लागि बाध्य पार्ने उपाय अपनाउनुपर्छ ।
कन्फ्युसियसले भने, ‘अत्याचारी शासनको भयका कारण सहने समाजले कुनै प्रकारले उन्नति गर्न सक्नेछैन । उसले विकासहीन जीवन बिताउँछ र युगसम्म यातना भोगाउँछ तथा सदा सर्वदा तल्लो स्तरमा राखेर जसोतसो आफ्नो जीवन व्यतीत गराउँछ । तसर्थ अत्याचारी शासन पल्टाउन जनता सदैव तयार रहनुपर्छ ।’
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५