काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादी सिके राउत र नेपाल सरकारबिच भएको ११ बुँदे सहमतिबारे जानकारी माग गरेका छन् । आइतबार संसदमा बोल्दै थापाले सो सहमतिबारे संसदलाई जानकारी गराउँदै संसदमा छलफल गराउने वातावरण बनाउन सभामुखको ध्यानाकर्षण पनि गराए ।
उनले नेपालको संविधानको सिमाभित्र मधेस र मधेसीको हक खोज्ने भनि भएको सहमति सकारात्मक भएको बताए । ‘तर, सहमतिको पृष्ठभूमि र शैलीले अदालत र सरकारकोबिच कतै मिलिभगत त चलिरहेको छैन भन्ने गम्भीर प्रश्न उठाएको छ,’ सांसद थापाले भने ,‘सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आफ्नै आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ । के का लागि जनमत संग्रह ? कसका लागि जनमत संग्रह ? हामीलाई उत्तर चाहिन्छ ।’
शुक्रबार स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएको थियो । सो सहमतिलाई सत्तारुढ दलकै प्रभावशाली नेता भीम रावलले समेत प्रश्न उठाउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सो सहमति बारे संसदमा छलफलको माग गरेको हो ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५