भोजपुर : भोजपुर नगरपालिको वडा नम्बर ४ सिद्धेश्वमा सञ्चालित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जिल्लाको दक्षिणी गाउँपालिका रामप्रसाद राईले जितेको छ ।
कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान र दावाँली मिलन क्लब काठमाडौंको संयोजकत्वमा आयोजित भलिबल प्रतियोगितामा छ स्थानीय तहले सहभागिता जनाएका थिए । आयोजकका अनुसार भोजपुर नगरपालिका, अरुण गाउँपालिका, टेम्के मैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकाको सहभागिता थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा आमचोक गाउँपालिकालाई सोझै तीन सेटमा हराउँदै रामप्रसाद राई गाउँपालिका प्रथम भएको हो । प्रतियोगितामा आमचोक गाउँपालिका दोस्रो र अरुण गाउँपालिका तेस्रो भएका छन् ।
प्रतियोगिता अन्तर्गत प्रथम, दोस्रो र तेस्रो हुने टीमले क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । भलिबल खेलको विकासका लागि प्रतियोगिता सञ्चालन गरिएको दावाँली मिलन क्लब काठमाडौँका अध्यक्ष रोशन श्रेष्ठले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५