काठमाडौं ः बार्सिलोना स्पेनिस ला लिगाको उपाधी यात्रामा बलियो बनेको छ । स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनाले शनिबार रायो भालेकानोलाई पराजित गर्दै उपाधि यात्रातिर अघि बढेको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुईस स्वारेज र जेरार्ड पिकेले १- १ गोल गरे भने रायो भालेकानोका लागि टोमस गोमेजले १ गोल गरेका थिए ।
खेलमा अग्रता भने रायो भालेकानोले लिएको थियो । खेलको २४ औं मिनेटमा नै गोमेजले गोल गर्दै अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा पिकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
५१औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए भने खेलको ८२ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए । जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक भएको छ ।
त्यस्तै, शनिबार राती नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले लेगानेसलाई १–० गोलअन्तरले पराजित गरेको छ । जितपछि एथ्लेटिकोको ५६ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ४८ अंक छ ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५