काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी विजयी भएको छ । सिटीले आफ्नै घरेलु मैदानमा वाटफोर्डलाई ३–१ ले हराएको हो ।
सिटीको जितमा रहिम स्ट्रर्लिङले ह्याट्रिक गोल गरे भने वाटफोर्डका जिरार्ड डोइलेफुले एक गोल गरे । जितसँगै सिटीले ३० खेलबाट ७४ अंक बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको २९ खेलबाट ७० अंक छ ।
शनिबारराति नै भएको अर्को खेलमा टोटनह्याम साउथह्याम्पटनसँग स्तब्ध बनेको छ । साउथह्याम्पटनले आफ्नै मैदानमा टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
साउथह्याम्पटनका लागि यान भलेरी र जेम्स वार्डले गोल गरे । यता, टोटनह्यामका लागि ह्यारी केनले गोल गरेका थिए । टोटनह्यामको यो लगातार तेस्रो हार हो ।
टोटनह्यामको ३० खेलबाट ६१ अंक भएको छ भने साउथह्याम्पटनको समान खेलबाट ३० अंक भएको छ ।
त्यस्तै प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्टर सिटीले फुलह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
अन्य खेलमा न्युक्यासलले एभर्टनलाई ३–२ ले, ब्राइटनले क्रिष्टल प्यालेसलाई २–१, कार्डिफ सिटीले वेष्ट ह्यामलाई २–० गोलले पराजित गर्दा बर्नमाउथले हडर्सफिल्डलाई २–० गोलअन्तरले नै पराजित गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५