काठमाडौ : आज चक्रपथ सरसफाइ महाअभियानले १०० औें हप्ता पूरा गरेको छ । ‘अब फोहोर टिपेर बस्ने होइन, फोहोर नफाल्ने प्रण गरौं’ भन्ने मूल नाराका साथ आयोजित सयौं हप्ताको विशेष कार्यक्रममा महाअभियानका संयोजक लोकबहादुर टण्डनले अहिलेसम्म चार सय जना अभियान्ताले सहयोग गर्दा एक हजार पाँच सय टन फोहोर व्यवस्थापन गरिएको जानकारी गराए ।
कोटेश्वरदेखि स्वयम्भुसम्मको सडक किनारामा रहेका चार सय रुखमा रङरोगन गरिएको, माटोको ढिस्कोलाई सम्याएको र फोहोर मैलामा सुतेर बिरामी परेकाहरुलाई ग्रीनसिटी हस्पिटलमा ल्याएर निःशुल्क उपचार गराएको बताए । उनले भने, फ्याँक्नेलाई दण्डित गर्ने र व्यवस्थापन गर्नेलाई प्रोत्साहन गर्न सकेमा मात्र फोहोरमैला व्यवस्थापनको काम प्रभावकारी हुन्छ ।
चक्रपथ सरसफाइ महाअभियानका संयोजक टण्डनले स्थानीय सरकारले फोहोर व्यवस्थापनको काममा पटक्कै ध्यान नदिएको गुनासो गरे । स्थानीय तहको चुनाव भएर प्रत्येक वडामा पाँच जना प्रतिनिधि आइसकेकाे यतिका दिन भइसक्दा पनि एकपटक पनि सहभागी जनाएका छैनन् भने बाहिर रहेर सहयोग पनि गरेका छैनन् ।
संयोजक टण्डनले स्थानीय सरकारबाट आफूले आशा गरेजस्तो सहयोग प्राप्त गर्न नसकेको भन्दै वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतको ध्यानाकर्षण समेत गराए।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५