काठमाडौ : ‘चक्रपथ सरसफाइ सुरु गर्दा हातले फोहोर उठाउन सम्भव नभएर डोजरले उठायांै । तर तपाईहरू देख्न सक्नुहुन्छ, अहिले एक थुन्से फोहोर संकलन गर्न पनि समय लाग्छ । त्यसैले ९५ प्रतिशत सुधार भएको छ ।’
चक्रपथ सरसफाइ महाअभियानको १००औं विशेष कार्यक्रममा अभियान संयोजक लोकबहादुर टण्डनको भनाइ हो यो । उनले भने, ‘फोहोर अभियान्ता र सरकारी निकायले संकलन गरिहाल्छ भन्ने मानसिकताबाट माथि उठ्नु जरुरी छ ।’ उनले फोहोर टिप्न अवस्था नै आउन नदिन फोहोर नफाल्ने बानीको विकास नगरेसम्म टोल, शहर सफा नहुने भएकाले सबैलाई सचेत रहन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार जोकोहीले वातावरणलाई असर गर्ने कार्य गरेमा क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्थासहितको वातावरण संरक्षण ऐन बन्न लागेको छ । चक्रपथ सरसफाइ महाअभियानको १००औं हप्ताको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले केही दिनभित्रै ऐन पेस हुने जानकारी दिए ।
‘कुनै घर वा उद्योग तथा कलकारखानाले प्रदूषण गरायो भने त्यसबाट स्वभाविक रूपमा मानिस तथा अन्य प्राणी प्रभावित हुन्छन् । यसले वातावरणमा समस्या निम्त्याउँछ, त्यसैले प्रदूषकलाई क्षतिपूर्ति तिराउने सहितको व्यवस्था गरेका छौं ।’मन्त्री बस्नेतले अभियानले अहिलेसम्म सडक स्वच्छताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै आगामी दिनमा यसको ढाँचा बदल्नुपर्ने बताए । उनले अब कलंकीदेखि चक्रपथ सडक विस्तारको काम हुने भएकाले अभियानले पनि सोही अनुसार प्रारूप बदल्नुपर्ने आवश्यकता औँल्याए ।
अभियान १००औं हप्ता पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । अभियानमा सहभागी भएर सरसफाइमा विशेष योगदान पु¥याउने विभिन्न संघसंस्था तथा अभियान्तालाई सम्मान गरिएको छ । बागमती सरसफाइ महाअभियानबाट प्रेरित भएर चक्रपथ सरसफाइ अभियान वि.सं. २०७४ वैशाख २ बाट सुरु भएको हो । कार्यक्रममा पूर्व शहरी विकासमन्त्री अर्जुननरसिंह केसी, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङलगायत हजारौँ सरसफाइ अभियान्ताको सहभागितामा विशेष कार्यक्रम भएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५