काठमाडाैं : सरकार फेरिए, खेलकुद मन्त्री फेरिए । धेरै आश्वासनका पोका बाँडिए तर आफूले राखेको कीर्तिमानबापत राज्यले सम्मान गरेको प्रत्याभूति गर्न पाएनन् उनले ।
बिहानी घामको झुल्कोसँगै दशरथ रंगशालामा भेटिने जितबहादुर केसी उनै हुन्, जसले सन् १९७३ नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाए । उनले फिलिपिन्सको मनिलामा सम्पन्न एसियन ट्र्याक एण्ड फिल्ड च्याम्पियनसीपअन्तर्गत म्याराथनमा कास्य पदक हात पारेका थिए ।
खेल जीवनको सुरुवाती दिन सम्झिँदै उनी भन्छन्, ‘नेपालमा त्यो बेला कुनै पनि रंगशाला थिएन । खेलकुदको खासै संस्कार नै बसेको थिएन । खेलकुदको माहोल थिएन । भौतिक संरचनाको पनि अभाव थियो ।’
सैन्य सेवामा १३ वर्ष
६७ वर्षीय जितबहादुरले खेल क्षेत्रबाट सन्यास लिएको धेरै वर्ष भइसक्यो तर उनी खेलकुद क्षेत्रबाट टाढा रहन सकेनन् । उनको दैनिकी दशरथ रंगशालाबाट सुरुवात हुन्छ । बिहान ७ बजेदेखि भण्डै १२ बजेसम्म दशरथ रंगशालातिरै भेटिन्छन् उनी । सामग्रीको रेखदेख गर्ने जिम्मेवारी छ उनको ।
२००८ भदौ ५ गते दोलखामा जन्मिएका जितबहादुर २०२१ सालमा नेपाली सेनामा भर्ती भएका थिए । १३ वर्ष सेवा गरेपछि उनले २०३४ सालमा जागिरबाट राजीनामा दिए । त्यसपछि उनी खेल क्षेत्रमा आवद्ध भए र एथलेटिक्सलाई आफ्नो जीवन बनाए ।
६ वटा अन्तर्राष्ट्रिय खेल
नेपालको नेतृत्व गर्दै उनले दुईवटा एसियन गेम्स खेलेका छन् । त्यस्तै, दुईवटा एसियन च्याम्पियनसीप र एक ओलम्पिक खेल खेलेका छन् ।
उनी सन् १९७० मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बने । उनले जीवनको पहिलो अन्तर्राष्ट्रिय खेलका रूपमा थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैटौँ एसियाली खेलकुदमा एथलेटिक्सअन्तर्गत म्याराथनमा सहभागिता जनाएका थिए । सहभागी भएको पहिलो खेलमै उनले सातौँ स्थान हासिल गर्न सफल भए ।
त्यस्तै, उनले सन् १९७२ मा जर्मनीको म्युनिखमा भएको प्रतियोगितामा सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको तेस्रो पटक अर्थात् सन् १९७३ मा उनले एउटा इतिहास कायम गरे । फिलिपिन्सको मनिलामा भएको सो खेलमा उनले खाली खुट्टाले दौडँदै नेपाललाई कास्य पदक दिलाए, जुन नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक बन्न पुग्यो । उनले २ घण्टा २८ मिनेटमा दौड पूरा गरेका थिए ।
उनी सन् १९७४ मा इरानमा सम्पन्न सातौँ एसियन गेममा पनि सहभागी बने । पाँच हजार मिटर दौडमा सहभागी बनेका केसी अन्तिम १२ मा पुग्न सफल बने ।
उता, उनले सन् १९७५ मा दक्षिण कोरियामा भएको दोस्रो ट्र्याक एण्ड फिल्ड प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भए । सन् १९७८ मा आठौँ एसियाली खेलकुदमा १२औँ स्थान ल्याउन सफल भएका जीतबहादुले यही प्रतियोगिताबाट खेल जीवनबाट सन्यास लिएका थिए तर उनी खेल क्षेत्रबाट भने टाढा रहन सकेनन् ।
खाली खुट्टा दौडिएर पदक
उनले पहिलो अन्तर्राष्ट्रिय पदकका लागि गरेको संघर्ष सम्झँदै भने, ‘खेल सुरु हुँदा घुँडासम्म डुब्ने गरी पानी परेको थियो । हामीसँग घुँडासम्म आउने जुत्ता थिएन तैपनि थोत्रो जापानी टाइगर सुज लगाएको थिएँ । दौडने क्रममा एउटा जुत्ता खुस्कियो । पानीमा हराएको जुत्ता भेटिने कुरा भएन । एउटा जुत्ता लगाएर के कुद्ने ? अर्को जुत्ता पनि फालिदिएँ ।’
उनले थपे, ‘पिचमा परेको पानी एकैछिनमा बाफ बनेर उड्यो । खाली खुट्टा पिचमा दौडँदा रगत बग्न थाल्यो तैपनि दौडिएँ । कोरियाको खेलाडी र म एकै पटक स्टेडियम छि¥यौँ तर रगताम्य गौडाले दौडन नसकेपछि कोरियन खेलाडी दोस्रो भयो, म तेस्रो भएँ । अहिले सम्झन्छु,, राम्रो जुत्ता भएको भए म प्रथम हुन्थेँ ।’
पदक जितेर नेपाल फर्किदाँ सिन्दूर जात्रा भएको थियो । तर आफ्नो पारिवारिक अवस्था नाजुक भएकाले सम्मान नपाएको गुनासो गर्छन् उनी । भन्छन्, ‘पदक जितेर फर्किएपछि राजा वीरेन्द्रले यिनको राम्रो व्यवस्था गर्दिनू भनेका थिए । मधेसमा मौजा, काठमाडौंमा घर र दिनको १० रुपैयाँ पकेट खर्च दिने आश्वासन दिइएको थियो, जुन कहिल्यै पुरा भएन ।’
प्रशिक्षकको भूमिका
एथ्लेटिक्सका पारखी जितबहादुरले खेल जीवनबाट सन्यास लिइसकेपछि प्रशिक्षकको रूपमा नेपाली एथ्लेटिक्समै दैनिकी बिताउन थाले । २०६४ सालमा सेवा निवृत्त भएका जितबहादुर अहिले पनि करारमा प्रशिक्षकको रूपमा खेलकै विकासमा लागिपरेका छन् ।
पछिल्लो पुस्ताका सुविधामा वृद्धि भए पनि सोचेजस्तो नतिजा नआएको उनको गुनासो छ । राज्यले इतिहास बिर्सेकामा उनी असन्तुष्ट छन् । उनी भन्छन्, ‘दुई–चार जना ओलम्पिकका खेलाडीहरूले सुविधा पाएका छन्, अरू हेरेको हे¥यै ।’
समय समयमा राज्यले दिने भनेर घोषणा गरेको सम्मान अझै नपाएकोमा उनी निकै असतुष्ट छन् । राज्यले दिने भनेर घोषणा गरेको सम्मानका लागि उनी धेरैतिर दौडिए । भन्छन्, ‘आफ्नो पक्षमा बोलिदिने मान्छे नभएकाले सम्मान नपाइएको जस्तो लाग्छ ।’
उमेरले बुढेसकाल लाग्दै गरेपनि खेलकुदका लागि जोसिला जित बहादुर रंगशालाको रेखदेख गरिरहेका छन् । खेलाडीहरुको सामाग्री रेखदेख गर्ने जिम्मेवारी बहन गरिरहेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५