‘आफैँभित्रको नारीबाट प्रभावित छु’ : कुञ्जना घिमिरे ‘सुन्तली’
नारीको अवस्थामा पहिलेभन्दा धेरै कुरा फरक भइसकेको छ । तथापि कुनैकुनै घटनाक्रमले भने समय समयमा विचलित नै बनाउने गर्छन् । नारीको चरित्रहत्या, बलात्कार, बोक्सीको आरोपमा दुव्र्यवहार जस्ता विषयले विचलित गराउँछन् नै । कुनैकुनै घटना हेर्दा लाग्छ, पुरुष–पुरुषबीचको द्वन्द्वमा नारी पिल्सिएका छन् ।
पछिल्लो समय नारी शक्तिशाली बन्दै गएका छन् । समय समयमा म पनि विभिन्न अन्तक्र्रिया कार्यक्रमहरूमा सहभागी हुँदा महिलालाई आफ्नो आत्मबल बढाउनका लागि सुझाव दिने गर्छु । कुनै पनि गलत कुराको प्रतिकार गर्ने शक्ति बढाउन पनि आग्रह गर्ने गर्छु ।
विभिन्न क्षेत्रबाट महिलाको अवस्था सुधारका पहलहरू भइरहेका छन् । तथापि, अझै पनि बालविवाह भएको कुरा आउने गर्छ । कतिपय क्षेत्रमा अझै पनि जनचेतनाको आवश्यकता रहेको देखिन्छ । समयक्रमसँगै नारीहरू शक्तिशाली बन्दै गएका छन् ।
महिलाहरू आफू बलियो छु भन्ने भाव राख्न आग्रह पनि गर्छु ।
म आफैँभित्रको नारीबाट प्रभावित छु । आफ्नै आत्मबलबाट अघि बढ्नुपर्छ भन्ने मान्यता पनि राख्छु । म मानसिक हिसाबले आफूलाई कमजोर ठान्दिनँ । ममा जोस, जाँगर र आफैँमा केही गर्न सक्छु भन्ने क्षमता छ । जुन काम पुरुषले गर्न सक्छ, ती काम महिलाले पनि गर्न सक्छन् भन्ने कुरामा कन्फिडेन्ट पनि छु र आफैँसँग प्रभावित भएकोमा गर्व पनि गर्न सक्छु । केही हदसम्म मदर टेरेसाबाट प्रभावित पनि छु ।
‘नारी मुक्तिको कुरा धेरै अर्थमा खुम्चिएको छ’ : सरस्वती प्रतीक्षा
पहिलो कुरा त वर्षमा एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस हुनुहुँदैन । नारी मुक्तिका सम्बन्धमा गरिने कुराहरू, लेखिने लेखहरू र व्यवहारका बीच आकाश–जमिनको फरक छ । भनाइ र गराइको बीचको अन्तरले गर्दा नारी मुक्तिको कुरा धेरै अर्थमा खुम्चिएको छ ।
मेरो नजरमा शक्तिशाली नारीहरू ती हुन्, जो विद्रोहको कुरा मात्र होइन, आफैँले विद्रोह गरेर अगाडि बढ्ने हिम्मत गर्न सक्छन् ।
विश्व परिप्रेक्ष्यमा सिमोन द बोउवार, माया एन्जेलो, ओपराह बिन्फ्रेदेखि नेपालका योगमाया र उमा वादीसम्म मेरो नजरमा शक्तिशाली महिला हुन् ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५