सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्पराको सुरुवात भयो ।
नारी दिवस फरक फरक वर्षमा फरक फरक दिनमा मनाउँदै आएकोमा सन् १९१४ देखि मात्र मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो ।
नेपाली पञ्चाङ्गअनुसार यो दिवस सालाखाला फागुन २४ गते पर्छ । अन्य थुप्रै मुलुकले ५०औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं. २०१६ साल अर्थात् सन् १९५९ बाट यो दिवस मनाउन थालिएको हो ।
नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । विभिन्न समयमा चर्चामा रहेका, विभिन्न क्षेत्रमा योगदान पुर्याएका नारीहरूलाई आजको दिन सम्झिने गरिएको छ । यसै सन्दर्भमा विभिन्न क्षेत्रमा योगदान गरेका केही नेपाली महिलाबारे यहाँ उल्लेख गरिएको छ ।
भृकुटी
भृकुटी नेपालकी राष्ट्रिय विभूति हुन् । उनी लिच्छवी राजा अंशुबर्माकी छोरी हुन् । उनी चिनियाँ शासक स्रङचङगम्पोकी पहिली पत्नी हुन् । राजा अंशुबर्माले तिब्बतसँग दरिलो सम्बन्ध बनाउन भृकुटीको विवाह चीनका शासकसँग विवाह गरिदिएका थिए ।
बौद्ध धर्ममा आस्था राख्ने भृकुटीले बुद्धका पवित्र आकृतिहरू र दक्ष नेवारी कालीगढहरू अफ्नो दाइजोको रूपमा लगेकी थिइन् । उनको चाहनाअनुसार ह्लासाको रातो महल तिनै कालीगढहरूले बनाएका हुन् ।
पाँचौँ दलाई लामाले पुनर्निर्माण गराई त्यही महल आज पोताला दरबारको रूपमा विश्व सामु अवस्थित छ ।
उनले तिब्बतको साम्ये गुम्बामा अन्य मुर्तिहरू नेपाली कलाकारद्वारा निर्माण गर्न लगाइन् । उनकै आग्रहमा नेपाली मुर्तिकार थ्रो–योले छेनरेग जस्तो आकर्षक मुर्ति बनाएका थिए । यसलाई तिब्बतमा मिक्यो दोर्जे (मनुभजरा) रामोच्छे जोवा या रामोच्छे छुन्ग्पा पनि भनिन्छ। यो मुर्ति हाल ह्लासाको मन्दिरमा छ।
राजेन्द्र लक्ष्मी
राजेन्द्र राज्यलक्ष्मी शाह (सन् १७८५) शाहवंशकी रानी थिइन् । उनले ८ वर्षको नायवीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिइन्। उनी पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहकी पत्नी थिइन्।
२३ वर्षको उमेरमा राजा बनेका प्रतापसिंह शाह त्यसको २५ वर्षपछि नै दिवंगत भएपछि राजेन्द्रलक्ष्मीले छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालेकी थिइन्। यिनलाई ‘राजमाता राजेन्द्रलक्ष्मी’ पनि भनिन्छ ।
राजेन्द्र राज्यलक्ष्मीले सन् १७७७ मा राजमाताका रूपमा शासनभार सम्हालेकी थिइन् भने सन् १७७८ मा उनलाई बन्दी बनाइएको थियो । सन् १७७९ मा उनलाई रिहा गरिएपछि उनी सन् १७८५ सम्म नेपालकी नायवी शासक रहेकी थिइन् । त्यस समयावधिमा राजेन्द्र राज्यलक्ष्मीको नेतृत्वमा सैनिक अभियानअन्तर्गत कास्की, तनहुँ र लमजुङका राज्यहरू नेपाल राज्यमा मिलाइएका थिए।
मेलवादेवी
मेलवादेवी गुरुङ प्रथम नेपाली गायिका हुन् । वि.सं. १९८५ मा उनले भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा ‘सवारी मेरो रेलैमा’ बोलका गीत रेकर्ड गराएकी थिइन् । उनी आफैँ गीत लेख्दै, धून बनाउँदै गाउने प्रथम नेपाली गायिका थिइन् ।
वि.सं. १९५६ मा ओखलढुङ्गा रुम्जाटारको काफलबोट गाउँमा जन्मिएकी मेलवादेवीले पाँच वर्षको कलिलो उमेरमै गीत गाएर गाउँलेलाई छक्कै पारेकी थिइन् । त्यसैले उनलाई राणाका दरबारमा गायिकाका रूपमा भर्ना गर्न उनकी आमा सप्तदेवी गुरुङ र दिदी बलमाया गुरुङले १९६५ सालमा काठमाडौं ल्याएका थिए । चन्द्रशमशेरको दरबारमा आएपछि मेलवादेवीको औपचारिक साङ्गीतिक यात्राको सुरुवात भएको थियो ।
उनी दरबारको रङ्गमञ्च, सभासमारोहका अतिरिक्त चन्द्रशमशेरसँगै सिकारमा जङ्गल पुगेरसमेत गीत गाउँथिन् । चन्द्रशमशेर पनि मेलवादेवीको स्वरका प्रशंसक थिए । चन्द्रशमशेरले मात्र होइन, उनकी रानी बालकुमारीदेवीबाट पनि सुरुसुरुमा मेलवादेवीले बक्सिस पाइरहिन् ।
मेलवादेवीको कोकिल स्वरलाई विराट स्वरूप प्रदान गर्न चन्द्रशमशेर सोचिरहेका थिए । त्यसैले मेलवादेवीलाई ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मा, गणपत, खेमचन्द्र आदिबाट शास्त्रीय सङ्गीतको गायनमा पनि तालिम दिन थालियो । त्यसपछि उनी झन् उत्कृष्ट स्वरकी कोइलीमा दर्ता हुन थालिन् ।
त्यसैले दरबारमा मेलवादेवीको इर्ष्या गर्नेहरूले उनको स्वरलाई विगार्न चन्द्रशमशेरकी रानी बालकुमारीदेवीका इसारामा मेलवादेवीका शत्रुहरूद्वारा पानमा सिन्दूर राखेर उनलाई खुवाइएको थियो । त्यसपछि उनको स्वर एक्कासि खस्कियो ।
चन्द्रशमशेरले मेलवादेवीको स्वरको उपचार गर्न बेलायतबाट चिकित्सक बोलाए तर जति नै खर्च गरे तापनि उनको स्वर पहिला जस्तै हुन सकेन । तर पनि चन्द्रशमशेरले उनको स्वरको तारिफ गर्न छाडेनन् ।
दरबारबाट निस्किएपछि मेलवादेवीको तबलाबादक भक्तकृष्ण मानन्धरसँग विवाह भयो । भक्तकृष्णसँग उनको दाम्पत्य जीवन सुखमय बन्न सकेन र उनी जन्मिएका दुई नाबालक सन्तान च्यापेर रेलमार्ग हुँदै कोलकाता लागिन् । कोलकाता पुगेपछि यात्राका अनुभव सँगालेर उनले ‘सवारी मेरो रेलैमा’ गीत लेखिन्, आफैँ सङ्गीत भरिन् र गाइन् पनि ।
त्यसबेलासम्म नेपाली महिलाले गाएको गीत औपचारिक रेकर्ड भएको थिएन । आधुनिक गीतको इतिहासमा मेलवादेवी पहिलो महिला नेपाली गायिका हुन् ।
योगमाया
नेपालको पूर्वी पहाडको ग्रामीण इलाकाबाट समाज सुधारको पक्षमा आवाज बुलन्द बनाउने विद्रोही महिला हुन् योगमाया । उनले वि.सं. १९७० देखि करिब २८ वर्ष पूर्वी नेपाल र काठमाडौंमा तत्कालीन राणा सरकारमा समेत ठूलै हलचल मच्चाउन सफल भइन् ।
विक्रमको १९२० को दशकमा भोजपुरको मजुवाबेँसीको ब्राह्मण परिवारमा जन्मिएकी योगमायाको बाल्यकालमै विवाह भएको थियो ।
उनको बालविवाहपछिको जीवन सन्तोषजनक बन्न सकेन । बाल बुहार्तन सहन नसकेर माइतीमा फर्किएर जाँदासमेत उनले शान्तिपूर्वक जीवन निर्वाह गर्न पाइनन् ।
सामाजिक उपेक्षापछि उनमा तत्कालीन सामाजिक बेथिति र छोरीहरूमाथिको असमान व्यवहारका विरुद्ध विद्रोहको बीजारोपण भयो ।
योगमायाले युवावस्थामा पुगेपछि आफ्नै खुसीले विवाह गरेर केही वर्ष भारतको असमको फूलबारी आसपासको क्षेत्रमा गएर पुनः आफ्नै जन्मथलो फर्केर आइन् तर तत्कालीन समाजले उनलाई सम्मानजनक रूपमा स्वीकार गरेन ।
तत्पश्चात् उनले आफूलाई विस्तारै धार्मिक चरित्रमा ढाल्दै लागिन् । स्थानीय महिला, दलित र उपेक्षित समुदायमा उनी माता अर्थात् ठूली हजुर वा शक्तिमाताका नामले मात्र चिनिइनन्, कठिन योग साधना पनि गरिन् । सामाजिक बेथिति, कुसंस्कार र अन्धपरम्पराका विरुद्ध धारा प्रवाह प्रवचन दिन थालिन् ।
तत्कालीन समयमा समाजसुधारका लागि सामान्य मानिसहरूलाई मात्र नभएर सरकारको समेत ध्यानाकर्षण गराउनका निमित्त उनले अध्यात्मिक हिसाबले आफ्नो जागरण अभियानलाई अघि बढाउनुपरेको थियो ।
तत्कालीन पुरुषप्रधान समाजले सामाजिक रूपमा बहिष्कारमा समेत परेकी एउटी महिलाको आन्दोलनलाई स्वीकार गर्न चाहेन ।
योगमायाले सामाजिक समस्या समाधानका लागि त्यस बेलाका राणा प्रधानमन्त्रीहरूलाई चिठी लेखिन् । चन्द्रशम्शेर र जुद्धशमशेरसँग प्रत्यक्ष–अप्रत्यक्ष वार्ताहरू पनि गरिन् । राणा सरकारले ‘सत्य धर्म भिक्षा’ दिने अर्थात् उनका माग पूरा गर्ने कबोलसमेत गर्यो, सरकारी कामकाजको भाषामा ‘लालमोहर’ पनि लाग्यो तर सरकारले यो कबोल लामो समयसम्म पूरा गरेन ।
त्यसपछि योगमायाले सरकारलाई चेताउने अर्थात् दबाब दिने योजना बनाइन् । उनकै अगुवाइमा १९९५ सालमा करिब अढाई सय मानिसले सरकारलाई चेतावनी दिन अग्निदाह गर्ने भए । यो योजना थाहा पाएर सरकारले योगमायासहित ११ जनालाई पक्राउ गरी छ महिनादेखि १८ महिनासम्म जेल तथा नजरबन्दमा पनि राख्यो । त्यसपछि उनीहरूलाई ‘आफैँ मर्नेछैनौँ, मर्यौँ भने कानुनबमोजिम सहुँला’ भन्ने कागज गराई जेलमुक्त गरियो ।
चेतावनी स्वरूप १९९८ असार २१–२२ गते हरिशयनी एकादशीका दिन योगमायासमेत ६८ जनाले अरुण नदीमा हामफाले । त्यसो गरेर उनीहरूले आफूले कबोल गरेको ‘सत्य धर्म भिक्षा’प्रति सरकारले देखाएको उदासीनताप्रति विरोध जनाएका थिए ।
द्वारिकादेवी ठकुरानी
द्वारिकादेवी ठकुरानी नेपालकी पहिलो महिला मन्त्री हुन् । २०१५ फागुन ७ गते प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १०९ निर्वाचन क्षेत्र विभाजन गरी निर्वाचन भएको थियो ।
उक्त निर्वाचनमा क्षेत्र नं. ६६ डडेल्धुराबाट नेपाली कांग्रेसबाट उम्मेदवार द्वारिकादेवी ठकुरानी तीन हजार ९०३ मत प्राप्त गरी फागुन १६ गते विजयी बनिन् ।
सो चुनावमा सात जना महिला उम्मेदवार भए पनि द्वारिकादेवी मात्र विजयी भएकी थिइन् ।
१९७२ कात्तिक १२ गते डोटीको जैनोली गाउँमा जन्मिएकी ठकुरानी सुदूरपश्चिममा जन्मिएर नेपालको निर्वाचित पहिलो महिला सांसद र मन्त्री बन्ने अवसर पाइन् ।
२०१६ जेठ ६ गते गठित मन्त्री मण्डलमा उनले स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।
उनको २०५९ मङ्सिर १४ गते निधन भयो ।
तारादेवी
‘शुभकामनाभरी’, ‘उकाली ओरालीहरूमा’, ‘आऊ नआऊ तिम्रै खुसी’, ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘साँघुुरी बारी नि हौ त्यो धारा पानी’, ‘कालीपारी दाइ कति राम्रो’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘फूलको थुँगा बगेर गयो’लगायतका थुप्रै कालजयी गीतहरू नेपाली संगीत आकाशमा दिएकी तारादेवीलाई स्वर किन्नरीको रूपमा लिइन्छ ।
वि.सं. २००२ माघ २ गते काठमाडौंको ईन्द्रचोकमा जन्मिएकी तारादेवीले पाँच वर्षको कलिलोे उमेरबाट गीत गाउन थालिन् । उनी उस्ताद भैरवबहादुर थापासँगै रेडियो नेपाल पुग्ने गर्थिन् ।
औपचारिक शिक्षातर्फ प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी तारादेवीले साङ्गीतिक शिक्षातर्फ उनले स्नातक उपाधि हासिल गरेकी थिइन् । २०२२ सालमा विमान चालक शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह गरेकी तारादेवीले रेडियो नेपालमा ३० वर्ष जति जागिरे जीवन बिताइन् ।
आधुनिक, लोकगीत, भजन, राष्ट्रिय गीत र चलचित्रका गीतहरू समेतमा आफ्नो मधुर स्वर दिन सफल तारादेवीले नेपालको पहिलो चलचित्र आमा मा पनि पार्श्र्व गायन गरिन् । उनी नेपाली चलचित्रमा पार्श्र्व गायन गर्ने पहिलो गायिका मात्र बनिनन्, गीति नाटकमा गीत गाउने पहिलो गायिका पनि तारादेवी नै बन्न पुगिन् । स्वर सम्राट् नारायण गोपालसँग युगल गीत गाउने पहिलो गायिका पनि तारादेवी नै हुन् ।
२०६२ माघ ८ गते राती १० बजे उनको भौतिक शरीरले यस संसारबाट बिदा लियो तथापि उनकव् कालजयी स्वरका कारण उनी नेपाली सङ्गीत आकाशमा अजर र अमर छन् ।
विद्यादेवी भण्डारी
विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुन् । भोजपुरमा जन्मिएकी भण्डारी एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । तात्कालीन एमाले महासचिव मदन भण्डारीकी श्रीमतीसमेत रहेकी उनी २०५० सालको उपनिर्वाचनमा कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर संसदीय राजनीतिमा होमिएकी थिइन् ।
वातावरणमन्त्री, रक्षामन्त्री हुँदै नेपालकै अभिभावकत्व निर्वाह गर्ने पद राष्ट्रपति बन्न सफल भएकी उनी राजनीतिमा मात्र नभएर पारिवारिक जीवनमा समेत सफल रहिन् ।
भूमिगत अवस्थामा विवाह बन्धनमा बाँधिएकी उनी आफ्ना श्रीमानको २०५० जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएपछि राजनीतिमा पुनः सक्रिय भइन् । विद्यार्थी राजनीतिबाट संसदसम्म पुग्न सफल भण्डारी नेपालमा गणतन्त्र आएपछिको दोश्रो अनि तेश्रो राष्ट्रपति हुन् ।
गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनुपूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्षसमेत थिइन् । महिला तथा बालबालिकाको क्षेत्रमा विषेश योगदानसमेत पुर्याउँदै आएकी उनी पुरुषप्रधान समाजमा महिला अधिकारका लागि लडेर देशको बागडोर सम्हाल्न सफल महिला हुन् ।
पासाङल्हामु शेर्पा
पासाङल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनी सोलुखुम्बूकोे चौँरीखर्कमा २०१५ साल मंसिरमा जन्मिएकी हुन् ।
तेस्रो पटकको प्रयास असफल भए पनि २०५० बैशाख १० गते चौथो प्रयासमा उनले सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेकी शेर्पाको फर्कने क्रममा देहान्त भयो । उनी विश्वको सत्रौँ महिला आरोही बन्न पुगिन् ।
उनको साहसको कदर गर्दै सरकारले उनलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ । यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटोसहितको हुलाक टिकट पनि प्रकाशित छ ।
अनुराधा कोइराला
समाजसेवामा पुर्याएको योगदान स्वरूप सिएनए हिरोको अवार्डले सम्मानित अनुराधा कोइराला पछिल्लो समय राजनीतिमा सक्रिय छन् । २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमा उनलाई नियुक्त गरेको हो ।
ओखलढुङ्गाको रुम्जाटारमा गुरुङ परिवारमा जन्मिएकी अनुराधा सानैदेखि सामाजिक क्षेत्रमा काम गर्ने रुचि राख्थिन् । उनी विशेषगरी विभिन्न देशमा बेचिँदै आएका चेलीबेटीको उद्धार गर्ने र बेचिन नदिने कार्य गर्दै आएको सामाजिक संस्था माइती नेपालकी संस्थापक हुन् ।
१९ वर्षे किशोर उमेरमा काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी उनको दाम्पत्य जीवन भने सफल रहेन । तर सधैँ न्यायको लडाइँमा अग्रणि भूमिका निर्वाह गर्न उनी सफल रहिन् । महिला हिंसाविरुद्ध उनका पाइलाहरू अगाडि बढिरहे, फलस्वरूप उनी नेपालमा मात्र होइन, विश्वमा नै परिचित बन्न पुगिन् ।
सुशीला कार्की
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन् । कार्की २०६७ साल मंसिर २ गते कानुन व्यवसायीबाट एकै पटक सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् ।
सर्वोच्चको न्यायाधीश बनेको छ वर्षपछि अर्थात् २०७३ बैशाखदेखि सुशीला कार्यवाहक प्रधानन्यायाधीश बनिन् । उनी २०७३ असार २७ गते प्रधानन्यायाधीश बनिन् । उनले न्यायाधीश हुँदा र प्रधानन्यायाधीश हुँदा गरेका फैसला र उनको चट्टानी अडान अहिले पनि चर्चाका विषय बनिरहेका छन् । प्रधानन्यायाधीशबाट अवकाश भएलगत्तै उनले नेपालको न्याय क्षेत्रका बारेको अनुभव र संस्मरण समेटिएको पुस्तक ‘न्याय’ प्रकाशन गरेकी छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५