उत्कृष्ट गोल किपरको पुरस्कार थाप्दै आम्तेक ११ का गोलरक्षक । तस्वीर : आजकाे न्युज
भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा फागुन १७ गतेबाट सञ्चालित दोस्रो मेयर कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आम्तेक ११ ले जितेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा भोजपुर नगरपालिका ७ को टिमलाई आम्तेकले हराउन सफल भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आम्तेकले ३ गोल गर्दै पहिलो बन्न सफल भएको छ भने भोजपुर नगरपालिका ७ को टिम २ गोल गर्दै दोस्रो भएको छ ।
प्रतियोगितामा प्रथम हुने आम्तेक ११ को टिमले नगद २ लाख, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । यसैगरी दोस्रो हुने भोजपुर ७ को टिमले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताए ।
प्रतियोगितामा छनौट भएका उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डरलाई पनि नगद तीन हजार रुपैयाँ प्रदान गरिएको छ । यसैगरी प्रतियोगिाको बिहीबार भएको सेमिफाइनल खेलमा पराजित जिल्ला प्रहरी कार्यालय र सेनाको रणबम गणको टिमले पनि नगद १०÷१० हजार रुपैयाँ पाएका छन् ।
विजयीहरूलाई भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले नगद तथा पुरस्कार प्रदान गरे । गत फागुन १७ मा जनप्रतिनिधि र कर्मचारी बिचमा भएको मैत्रीपूर्ण फुटबल खेलका सहभागीलाई भोजपुरका स्थानीय श्याम श्रेष्ठले खसी प्रदान गरेको आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगितामा भोजपुर जिल्लाका १५ र खोटाङको १ टिम गरी १६ टिम सहभागी जनाएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५