काठमाडौं : कैलाली जिल्ला अदालतले टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेपछि सो विरोधमा सरकार सहयात्री दल नै उत्रिएको छ ।
संघीय सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दल संघीय समाजवादी फोरमले विज्ञप्ति जारी गर्दै फैसलाको विरोध गरेको छ । विज्ञप्तिमा उसले आ–आफ्नो जातीय/राष्ट्रिय पहिचानसहितको संघीय शासन प्रणाली स्थापनाका लागि भएका राजनीतिक संघर्ष र आन्दोलनलाई कानुनी नजरले हेर्न नहुने बताएको छ ।
अधिकार प्राप्तिका लागि भएको आन्दोलनलाई आपराधिक कार्य भनी फैसला भएकोमा पार्टीको ध्यानाकर्षण भएको फोरमका महासचिव रामसहाय यादवले बताए । आजको न्युजसँग कुरा गर्दै उनले भने, ‘यसअघि भएका सबै आन्दोलन चैं राजनीतिक हुने, अनि एउटा पिछडिएको वर्गको आन्दोलन चैं कसरी आपराधिक हुन्छ ?’
यसअघि भएका जघन्य अपराधका मुद्दा पनि विचाराधीन रहेको उल्लेख गर्दै उनले यो घटनाको फैसलामा केही राजनीतिक चलखेल भएको आशंका व्यक्त गरे । भने, ‘यसअघि कुनै यस्ता घटना भएका थिएनन् र ? ती घटनामा कुनै मुद्दा विचाराधीन छन्, कुनैमा फैसला भएर आममाफी पनि भएका छन् ।’
सरकारले यसलाई राजनीतिक रुपले समाधान गर्नुपर्नेमा उनको जोड थियो । घटनाका आरोपीहरूमाथि भएको सजायमा सरकारले आममाफी दिनुपर्ने उनको आशय थियो ।
समाजमा शताब्दियौँदेखि कायम रहेको जातीय, भाषिक, धार्मिक, लैङ्गिक, क्षेत्रीय र वर्गीय असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गरी समानता, सामाजिक न्याय, समावेशी लोकतान्त्रिक प्रणालीका लागि आन्दोलन गर्ने एउटा वर्गमाथि आपराधिक कार्यको बिल्ला भिराई सजाय तोक्नु न्यायसंगत नहुने उनको अर्थ थियो । टीकापुर घटनाका आरोपीलाई सजाय हुने भए त्यसअघिका आन्दोलनका नेतृत्व गर्ने र सहभागी हुने कोही पनि बच्न नसक्ने उनले बताए ।
कानुनले कसैलाई सजाय कसैलाई उन्मुक्ति दिँदा पूर्वाग्रहको गन्ध आउने उनले बताए । भने, ‘आन्दोलन गर्नेलाई जन्मकैद सजाय गर्ने हो भने यसअघिका आन्दोलनकारीले चैं कसरी उन्मुक्ति पाए ।
तपाईंहरूको माग सरकारले सम्बोधन गरेन भने के गर्नुहुन्छ भन्ने जिज्ञासामा महासचिव यावदले त्यसपछि पार्टीले अर्को निर्णय गरेर अगाडि बढ्ने बताए । सरकारमा सहभागिताबारे के गर्ने भन्ने चाहिँ सरकार कसरी अगाडि बढ्छ त्यसले निर्धारण गर्ने उनको तात्पर्य थियो ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५