विश्वमा महिला नेतृत्वको विषयमा कुरा गर्ने हो भने लामो इतिहास पाउन सकिन्छ । विश्वमा महिलाहरूले समानता, स्वतन्त्रता र न्यायका लागि लामो संघर्ष छेड्नुपर्यो । अमेरिका जस्तो प्रजातान्त्रिक देशमा समेत १९औँ शताब्दीसम्म महिलालाई मताधिकार थिएन । तर महिलाले कठोर संघर्ष गरे र आज संसारमा महिला अधिकारका क्षेत्रमा धेरै सुधारहरू भइसकेका छन् । आजको अवस्थामा आइपुग्न ठूलो त्याग गर्ने महिलाको सूची लामै छ ।
महिलाहरूमा जागरण मात्रै आएन, उनीहरू देशको नेतृत्व गर्न सक्षम छन् भनेरसमेत प्रमाणित गरे । विश्वमै पहिलो महिला राष्ट्राध्यक्ष बन्ने सौभाग्य पाएकी तुभान/सोभियत राजनीतिज्ञ खेर्तेक आन्चिमा तोकादेखि बालबालिका शिक्षाको पक्षमा लाग्दा तालिबानको गोली खाएकी मलाला युसुफजाईसम्म महिलाहरूको गाथा गौरवपूर्ण छ ।
महिला अधिकारका लागि लडेकी जेनी मार्क्स, क्लारा जेट्किन, रोजा लक्जमबर्ग, क्रुप्सकायादेखि सुखवार्तयन यन्ज्मा, सुसान बी एन्थोनी हुँदै पछिल्लो समयमा थेरेसा मे, एन्जेला मर्केलसम्मले विश्वमा प्रभावशाली उपस्थिति देखाएका छन् । त्यसैले महिला अधिकारका क्षेत्रमा उनीहरूको ठूलो योगदान छ ।
जेनी मार्क्स
जेनी मार्क्स कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण रूपमा जोडिएर आउने नाम हो । महान् दार्शनिक कार्ल मार्क्सकी पत्नी जेनीको पूरा नाम जोहान्ना बेर्था जुली जेनी भोन वेस्टाफालेन हो । उनको जन्म १२ फेब्रुअरी १८१४ मा भएको हो । उनी अत्यन्तै तीक्ष्ण बुद्धि भएकी महिला हुन् । एङ्गेल्सले जेनी मार्क्सको मृत्युमा उनीप्रति श्रद्धान्जली प्रकट गर्दै भनेका थिए, ‘अत्यन्त तीक्ष्ण बुद्धि, क्रान्तिकारी आन्दोलनप्रति पूरै समर्पण भएकी उच्च श्रेणीकी महिला भएर पनि उनी सार्वजनिक क्षेत्रमा देखापरेकी थिइनन् र अखबारहरूका पानाहरूमा कहिल्यै उनको नाम आएन । जो उनीसित बस्थे, उनीहरूलाई मात्र उनी कस्ती थिइन् भन्ने कुरा थाहा थियो । अब म उनको बुद्धिमतापूर्ण सल्लाहबाट वञ्चित हुनेछु ।’
उनले निकै कमजोर आर्थिक अवस्थाका कारण दु:ख, कष्टपूर्ण जीवन बिताएका कार्ल मार्क्सलाई सधैँ सच्चा प्रेम गरेर साथ मात्रै दिइनन्, एउटा महान् दार्शनिक बन्नमा पूर्ण सहयोग गरिन् । उनको कलेजोमा क्यान्सरका कारण २ डिसेम्बर १८८१ मा निधन भएको थियो ।
क्लारा जेट्किन
क्लारा जेट्किनको जन्म ५ जुलाई १८५७ मा जर्मनीमा भएको हो । क्लारा सानैदेखि वामपन्थी राजनीतिमा सक्रिय थिइन् । उनको अन्तर्राष्ट्रिय महिला आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको छ । ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने प्रस्ताव पनि उनले नै राखेकी थिइन् । सन् १९१० मा कोपनहेगनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मन मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखेकी थिइन् । उनको निधन २० जुन १९३३ मा रुसमा भएको थियो ।
रोजा लक्जमबर्ग
लामो समय अन्तर्राष्ट्रिय महिला आन्दोलनमा महत्त्वपूर्ण भूमिका निभाएकी रोजा लक्जम्बर्गको जन्म ५ मार्च १८७१ मा पोल्याण्डमा भएको थियो । उनी १६ वर्षको उमेरदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय थिइन् । उनले दर्शन, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र र गणितको अध्ययन गरेकी थिइन् भने पोल्याण्डको औद्योगिक विकास विषयमा विद्यावारिधि प्राप्त गरेकी थिइन् ।
उनले जर्मनीको समाजवादी पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिन् । जर्मनीमा पार्टीकै कामको सिलसिलामा उनले एक जर्मन नागरिकसँग विवाह गरेकी थिइन् । जर्मनीमा वामपन्थी आन्दोलनमा उनको महत्त्वपूर्ण भूमिका छ । उनको नेतृत्वमा जर्मनीका कैयौँ स्थानमा विद्रोह र हडतालहरू गरिए । उनले लिभ्नेच्टसहित थुप्रै नेतृहरूलाई समेटेर गठन गरेको स्पार्टाकस लिगको नेतृत्वमा भएको विद्रोहका क्रममा दुवै जना पक्राउ परे र १५ जनवरी १९३३ मा बर्लिनमा उनको हत्या भयो ।
क्रुप्सकाया
लेनिनकी पत्नी क्रुप्सकायाको जन्म २६ फेब्रुअरी १८६९ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको हो । उनी रुसी वोल्सेभिक पार्टीकी महत्त्वपूर्ण नेतृ थिइन् । जारशाहीकालमा रुसमा पत्रपत्रिका पढ्नसमेत प्रतिबन्ध रहे पनि विभिन्न अध्ययन मण्डलहरू गठन गरेर भूमिगत रूपमा अध्ययन र छलफल गर्थे ।
क्रुप्सकाया पनि यस प्रकारका मण्डलीहरूमा जाने गर्थिन् । त्यही क्रममा उनको लेनिनसँग भेट भयो, जहाँ लेनिनले दिने दार्शनिक भाषणका कारण क्रुप्सकाया प्रभावित भइन् । सन् १९९५ मा लेनिन गिरफ्तार भए । त्यसको केही महिनापछि क्रुप्सकाया पनि पक्राउ परिन् । लेनिनलाई साइबेरिया निष्काशन गरिएपछि उनी पनि त्यतै गइन् ।
उनले साइबेरियादेखि जर्मनी गएर बस्दासम्म लेनिनको लेखपढमा महत्त्वपूर्ण सहयोग गरिन् । सन् १९०५ मा वोल्सेभिक पार्टीको क्रान्ति असफल भएपछि मजदुरलाई प्रशिक्षण दिँदै हिँडेकी उनी सन् १९१७ को क्रान्तिपछि भने शिक्षा विभागमा काम गरिन् । उनले सन् १९२९ देखि १९३९ सम्म शिक्षा विभागको मन्त्रीको रूपमा भूमिका निर्वाह गरिन् । आफ्ना पति लेनिनको निधनपछि नेतृत्वमा आएका स्टालिनलाई उनले महत्त्वपूर्ण सहयोग गरिन् । उनको निधन सन् १९३९ मा भयो ।
म्यारी वोल्स्टोनक्राफ्ट
म्यारी वोल्स्टोनक्राफ्ट १८औँ शताब्दीमा नै महिला मुक्तिको आन्दोलन सुरुवात गर्ने दार्शनिक नारी हुन् । उनले महिलाहरूको अधिकारको पक्षमा ‘अ भिन्डिकेसन अफ दि राइट्स अफ वुमन’ नामक पुस्तक लेखेर महिलामुक्तिको आन्दोलनलाई नयाँ उचाइ प्रदान गरिन् । उनले आधुनिक विश्व इतिहासमा महिलाहरू पनि पुरुषभन्दा कमजोर छैनन् भन्ने मान्यतालाई स्थापित गरिन् । अंग्रेजी लेखक तथा दार्शनिक म्यारी लैंगिक समानताका लागि लड्ने संघर्षशील व्यक्ति हुन् ।
सुसान बी. एन्थोनी
अमेरिकी संविधानको १९औँ संशोधनसम्म पनि महिलालाई मतदानको अधिकार थिएन । एलिस पाउलले अमेरिकी महिलालाई मताधिकार दिनुपर्ने पक्षमा चलेको आन्दोलनको नेतृत्व गरिन् । सुसान बी. एन्थोनी (सन् १८२०–१९०६) ले पनि अमेरिकी महिलाले मताधिकार पाउनुपर्ने आन्दोलनमा प्रमुख भूमिका खेलिन् र यसको श्रेय उनैलाई जान्छ । उनले पुरुषलाई मात्रै मताधिकार हुने विभेदकारी नीतिविरुद्ध संघर्ष मात्रै गरिनन्, सन् १८७२ को राष्ट्रपति निर्वाचनमा मत हाल्नसमेत खोजिन् ।
भोट हाल्ने उनको आकांक्षा थियो तर सफल हुन सकिनन् । उनको निधनको १४ वर्षपछि अर्थात् सन् १९२० मा भएको १९औँ संशोधनले महिलालाई मताधिकार दियो । यसलाई ‘सुशान बी. एन्थोनी संशोधन’ भनिन्छ ।
म्याडम क्युरी
संसारले म्याडम क्युरी भनेर चिन्ने म्यारिया सालोमिया स्लोदोव्स्का (सन् १८६७–१९३४) चर्चित वैज्ञानिक हुन् । रेडियोधर्मी तत्त्वको सफल प्रशोधन गरेर उनले संसारलाई नयाँ युगमा प्रवेश गराइन् । आफ्ना पति पियरे क्युरीसँगको सहकार्यमा उनले युरेनियमको प्रशोधन गरिन्, रेडियम नामक रेडियोधर्मी तत्त्व पत्ता लगाइन् ।
निकै कष्टपूर्ण जीवनका बाबजुद उनले भौतिक विज्ञान र रसायनशास्त्रमा डिग्री गरिन् । लामो खोजका लागि म्याडम क्युरी र उनका पति पियरेलाई सन् १९०३ मा भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । सन् १९११ मा उनलाई रसायनशास्त्रतर्फको नोवेल पुरस्कार दिइयो । दुई पटक नोवेल पुरस्कार पाउने उनी एक मात्रै महिला हुन् ।
मदर टेरेसा
मेसेडोनियामा जन्मिएर भारतलाई कर्मभूमि बनाएकी समाजसेवी मदर टेरेसा संसारभर दया र सेवाकी प्रतिमूर्ति मानिन्छिन् । १८ वर्षको उमेरमा जन्मभूमि मेसेडोनिया छाडेर उनी भारत आइन् र रोगीहरूको सेवा गरिन् । लेबनानका युद्ध पीडित, आर्मेनियाका भूकम्पपीडित र इथियोपियाका भोकमरी पीडितको सेवा गरेकी थिइन् उनले । उनले ‘अर्डर अफ मिसनरिज् अफ च्यारिटी’ स्थापना गरिन् । मदर टेरेसालाई सन् १९७० मा नोवेल शान्ति पुरस्कार दिइएको थियो ।
हेलेन केलर
आफैँ कान नसुन्ने हेलेन केलरले आफ्नो आवाजचाहिँ सबैले सुन्ने बनाइन् । आँखा देख्दिनथिन् उनी तर उनलाई सबैले हेर्न बाध्य भए । अपांगतायुक्त समुदायको अधिकारको पक्षमा संघर्ष गर्ने हेलेन केलर लेखक, राजनीतिकर्मी मात्रै होइन, आशा र संघर्षकी प्रतिमूर्ति पनि हुन् ।
एन फ्य्रांक
एन फ्य्रांक ती किशोरी हुन्, जसले आफ्नो अवचेतन मनबाट निस्किएका भावनाहरूलाई डायरीमा टिपिन् र मानवताको आवाजलाई स्थापित गरिन् । जर्मन यहुदी किशोरी एनले फाँसीवादी हिटलरको नीतिका कारण जनताले भोग्नुपरेको पीडा र सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धका कारण भोग्नुपरेको कठिन परिस्थितिको वर्णन सो डायरीमा उल्लेख गरेकी छन् ।
उनको मृत्युपछि प्रकाशित उनको डायरी ‘द डायरी अफ अ योङ गर्ल’ संसारमै चर्चित छ । उनी चार वर्षकी हुँदा उनको परिवार नेदरल्यान्ड भागेको थियो । तर सन् १९४० मा हिटलरले नेदरल्यान्डमाथि कब्जा जमाएपछि उनको परिवार भागीभागी बस्न बाध्य भएको थियो । त्यही भागाभागबाट उत्पन्न अवस्थाबारे यसमा चित्रण गरिएको छ । उनको जर्मनहरूको क्याम्पमा १६ वर्षको उमेरमा १९४५ मा युद्ध समाप्त हुनुभन्दा एक साताअघि निधन भएको थियो ।
एलेन जोन्सन सर्लिफ
अफ्रिकाको पहिलो निर्वाचित महिला राष्ट्र प्रमुख सर्लिफले ‘सूचनाको हकसम्बन्धी’ विधेयकमा हस्ताक्षर गरेर देशलाई नयाँ मोड दिइन् । पश्चिम अफ्रिकामा यो यस प्रकारको पहिलो कानुन थियो । उनलाई अधिनायकत्व, भ्रष्टाचार र गरिबीविरुद्ध महिला र किशोरीहरूको सशक्तीकरणको ‘ग्लोबल आइकन’का रूपमा लिइन्छ ।
मलाला युसुफजाई
मलाला युसुफजाई पाकिस्तानी किशोरी हुन्, जसले बालिका शिक्षाका लागि निरन्तर आवाज उठाइन् । उनलाई स्कुल गएकै कारण तालिबानले गोली हाने । गोलीले उनको शरीर छियाछिया बनायो, सिथिल भइन्, मुस्किलले बाँचिन् तर उनको आवाज विश्वमै सशक्त बनेर बाहिर आयो ।
मलाला तिनै बालिका हुन्, जसले छोरीलाई शिक्षा दिलाउनका लागि आफ्नो ज्यानको बाजी थापिन्, अतिवादविरुद्ध अटल रूपमा उभिइन् । सन् २००९ मा ११ वर्षको उमेरमै ब्लग लेखेर छात्रा विद्यालय बन्द गर्ने तालिबानीहरूको कदमविरुद्ध धावा बोलिन् ।
सन् २०१३ मा उनको आत्मसंस्मरण ‘आई एम मलाला : द गर्ल हु स्टुड अप फर एजुकेसन एन्ड वाज सट बाई तालिबान’ प्रकाशित भयो । सन् २०१४ मा उनी र भारतीय बालअधिकारकर्मी कैलाश सत्यार्थीलाई संयुक्त रूपमा नोवेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५