बझाङ : आज विश्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको छ । महिला अधिकारका विषयमा विश्वभर बहस र पैरवी भइरहेको छ । नेपालमै पनि विशेषगरी शहरी क्षेत्र र केही राजनीतिक-सामाजिक चेत भएका स्थानमा यस दिवसका विभिन्न कार्यक्रम भइरहेका छन् ।
तर बझाङको दूरदराजमा जीवनयापन गरिरहेका महिलालाई यो दिवस कुन चरीको नाम हो जस्तै भइरहेको छ । गाउँमा प्राय: पुरुष देखिँदैनन् । खेतबारी, मेलापात होस् या अन्य आवश्यक काम आइपर्दा जहाँतहीँ महिला मात्र देखिनु यहाँको दैनिकी हो । बझाङमा अहिले पनि अधिकांश पुरुषहरू प्राय: मजदुरी गर्न भारत जान्छन् । उनीहरू चाडपर्वमा वा खेती लगाउने बेला मात्र गाउँ फर्किन्छन् ।
खाडी तथा मलेसियाको रोजगारीले त गाउँ झनै रित्तिएको छ । घरबारको सबै काम महिलाले गर्नुुपर्ने तर त्यही महिला चोखो नहुुँदा (छाउपडी हुुँदा) धेरै कामहरू गर्न नहुुने सामाजिक मान्यता छ । बझाङमा महिलाले धुरी चढ्नुहुँदैन भन्ने स्थानीय मान्यता छ । तर हरेकजसो दैनिक कामका लागि महिला नै अघि नसरी काम फत्ते हुनै सक्दैन ।
यहाँको अर्को नरमाइलो पक्ष पनि छ । यहाँ पुरुषले काम गर्नुहुँदैन भन्ने धारणा छ । घर व्यवहारका चुह्लोचौकोदेखि मेलापातसम्म महिलाले गर्नुपर्ने बाध्यता छ । बरु पुरुष दिनभर तास खेल्छ, गाँजा र रक्सीमा मस्त हुन्छ तर महिलालाई कुनै काममा सहयोग गर्न तयार हुँदैन ।
हेरौँ, फ्रान्सेली पत्रकार म्याथु सेराल्डले खिचेका यी प्रतिनिधिमूलक तस्बीर ।
हेर्नुहोस् फोटो :
तस्बीर सौजन्य : मिशन साइपाल/रारा फिल्मस्
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५