काठमाडाैं : एनआरएन, अन्तर्राष्ट्रिय महिला संयोजक हुन्, बेल्जियम वसोबास गर्दै आएकी रजनी प्रधान । २५/२६ वर्षअघि पढाइको सिलसिलामा बेल्जियम पुगेकी उनी अहिले व्यापारका साथै एनआरएनमा पनि सक्रिय भएर लागिपरेकी छिन् ।
प्रधानका अनुसार एनआरएन संगठित ८० देशमध्ये ७० देशमा महिला समिति पनि संगठित छन् । उनीहरू सबैले आफ्नो देश अनुसार ‘एक नेपाली, एक यूरो’ अभियान सञ्चालन गरेका छन् । यही संकलित रकमबाट नेपालमा विभिन्न अभियानका साथै महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएको उनी बताउँछिन् ।
अहिलेसम्ममा नेपालमा ४० जनालाई विभिन्न प्रशिक्षण दिएर जागिरे पनि बनाएका छन् उनीहरूले । कसैले जागिर खाएका छन् त कसैले आफैले सानो–ठुलो व्यवसाय सञ्चालन गरेका छन् । त्यस्तै महिला हिंसाविरुद्ध चेतनामूलक कार्यक्रम पनि विभिन्न ठाउँमा सञ्चालन गरिरहेको प्रधानले जानकारी दिइन् ।
समग्र एनआरएन सदस्यमध्ये ३० प्रतिशत महिला रहेको उनले जानकारी दिइन् । आयात निर्यातमा संलग्न रजनी प्रधानका अनुसार एनआरएनमा महिला सहभागिता विस्तारै बढ्दै गएको छ । अहिले हङकङ, मकाउ र दक्षिण कोरियामा महिलाले नेतृत्व गरिरहेका छन् ।
प्रस्तुत छ हङकङकी टीका गुरुङ र दक्षिण कोरियाकी लक्ष्मी गुरुङसँग अन्तर्राष्ट्रिय महिला दिवसको सेरोफेरोमा रहेर आजको न्युजकर्मी मनोज श्रेष्ठले गरेको कुराकानीका आधारमा एक रिपोर्ट :
टीका गुरुङ, अध्यक्ष एनआरएन, हङकङ
विदेशी भूमिमा गएर आफूलाई स्थापित गराउन सफल नाममध्ये हङकङ एनआरएनकी अध्यक्ष टीका गुरुङ पनि एक हुन् । सन् १९९४ मा आईडीबाटै गएकी गुरुङलाई त्यसपछिका दिनमा पछाडि फर्किएर कहिल्यै हेर्नुपरेन । उनको व्यवसाय विस्तारै फैलिएर अहिले ठूलै भइसकेको छ ।
हङकङ प्रवेश गरेदेखि नै नेपाली रेस्टुरेन्ट खोलेकी गुरुङले गरेको मेहनतको फल अहिले लाग्न थालेको छ । भन्छिन्, ‘हङकङ आउँदा जस्तो थिएँ, अहिले धेरै फरक भइसकेको छ ।’ उनकै नेतृत्वमा नेपाली गोर्खा क्लब रेस्टुरेन्ट खोले पनि भनेजस्तो नभएपछि बन्द गरेर फेरि अर्कै ठाउँमा ‘स्पाइस आई’ नामको अर्को रेस्टुरेन्ट खोल्नु परेको उनी बताउँछिन् ।
त्यस्तै श्रीमानसँगै मिलेर गोर्खा कन्स्ट्रक्सन खोलेर नेपाली कामदारलाई सेक्युरिटी, प्रशासन, हाउसकिपिङ, क्लिनर सम्बन्धी सेवा समेत दिँदै आएकी छिन् । यस कम्पनीमा कामदारहरूको घटबढ भइरहने उनी बताउँछिन् ।
त्यसबाहेक मार्चबाट रेमिट्यान्स र फाइनान्स पनि सञ्चालनमा ल्याउने तयारीमा छिन् उनी । त्यस्तै ५० जनाको नयाँ समूह मिलेर खोल्न लागिएको यस रेमिट्यान्स र फाइनान्सलाई नेपालमा पनि स्थापना गर्न उनीहरू लागिपरेका छन् ।
सन् २००६ मा एनआरएन गठन हुँदा उनी पनि संस्थापकमध्येकै एक हुन् । संस्थापक भए पनि आफ्नो व्यवसाय लगायतका कारण उनले एनआरएनमा जोडिएको झन्डै पाँच वर्षपछि कार्यसमितिमा रहेर काम गर्दै आएकी हुन् । कार्यसमिति सदस्यबाट कोषाध्यक्ष, उपाध्यक्ष हुँदै एकपटक अध्यक्षमा प्रतिस्पर्धा गरेको अनुभव पनि उनीसँग छ । तर त्यसपटक उनी सफल हुन सकिनन् । अन्ततः सन् २०१७ मा उनले अध्यक्ष, त्यै पनि निर्विरोध निर्वाचिन भइन् ।
गुरुङ भन्छिन्, ‘एनआरएन गठनको १४ वर्षमा हुन नसकेको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन हङकङमा आयोजना गरेर हामीले पुष्टि गरेका छौँ कि, महिलाले चाहेमा जे पनि गर्न सक्छन् भनेर ।’ उनी भन्छिन्, ‘संस्था हाँक्न गाह्रो छैन । तर, नयाँ मान्छे आएर हाँक्न भने सक्दैन । अनुभव भयो भने फेरि यो केही होइन ।’
क्षेत्रीय सम्मेलनमा १८ देशका एक सय ५० जनाको सहभागिता थियो । जहाँ भिसा समस्यादेखि हरेक कुराको व्यवधान हुँदाहँुदै पनि सफल रूपमा उनले समापन गरेपछि उनको नाम सिंगो एनआरए वृत्तमा फैलिएको छ ।
गुरुङ भन्छिन्, ‘हामीले संस्थालाई फन्ड बटुलेर मजबुत भन्दा पनि विभिन्न सामाजिक गतिविधिका कार्यक्रम आयोजना गरेर एकअर्कालाई सहयोग गरिरहेका छौँ । हामीले गरेको कार्यक्रमबाट उठेको रकम पक्कै पनि नेपालमा विभिन्न समस्यामा पर्नेलाई नै सहयोग गर्दै आएका छौं’, गुरुङ भन्छिन्, ‘यस वर्ष पनि हामीले महिला दिवसमा नेपालबाट लिली थापा लगायत ११ जनालाई सम्मान गर्दै छौँ ।’ बस्नेत वुमन फर ह्युमन राइट्सकी संस्थापक अध्यक्ष हुन् । उनीहरुले यसअघि पनि विभिन्न महिलाहरूलाई लगेर हङकङमा सम्मान गरिसकेका छन् ।
महिला दिवस मनाउनु राम्रै कुरा हो । तर अब महिला अधिकारको नाममा आफूले आफैलाई विभिन्न अधिकार मात्रै होइन, कर्तव्य पनि निभाउँदै जानुपर्नेमा उनको सुझाव छ । विस्तारै आफ्नो सीप, क्षमता, र शिक्षामा पनि ध्यान दिनुुपर्नेमा उनको जोड छ ।
लक्ष्मी गुरुङ, अध्यक्ष एनआरएन दक्षिण कोरिया
भर्खर भर्खर शहरको अनुहार देख्न पाउने समयमा दक्षिण कोरिया पुगेकी लक्ष्मी गुरुङ भन्छिन्, ‘महिलाहरू विस्तारै विस्तारै परिस्कृत र परिपक्व हुँदै छन् । उनीहरू हरेक पुरुषसरह संघर्ष वा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगका छन् ।’
त्यसबेलाको दुर्गम ठाउँ मनाङमा हुर्किएकी गुरुङ एनआरएन दक्षिण कोरियाकी अध्यक्षसमेत हुन् । उनको व्यवसाय चौतर्फी फैलिएको छ । दक्षिण कोरियामा मात्रै होइन, उनको नाम विश्वभरका एनआरएनमा फैलिएको छ । भन्छिन्, ‘महिलाहरू महिला भएर मात्रै बस्नु हुँदैन । सक्दो संघर्ष गर्नुपर्छ अनि मात्रै सोचेको स्थान पाउन वा ओगट्न सकिन्छ ।’
पहिले जस्तो दुःख नभएकाले पनि महिलाहरू आफै पनि अघि बढ्ने कोसिस गर्नुपर्ने उनको सुझाव छ । सन् १९९५ मा कोरिया पुगेकी गुरुङ सिलाइकटाइ प्रशिक्षण लिन गएकी थिइन् । त्यसबेला नेपाल सरकारले कोरियाबाट सीप सिकेर फर्किएकालाई व्यवसाय गर्न लगानी गथ्र्यो । तर, कोरियामा आर्थिक मन्दीले सताएपछि कोरियाले त्यहाँ प्रशिक्षण लिन पुगेकाहरूलाई भियतनाम पठाउने निर्णय ग¥यो । त्यसपछि आफू फेरि सन् १९९७ मा नेपाल फर्किएको उनी बताउँछिन् ।
कोरियाले विस्तारै आर्थिक मन्दीको सामना पार गरेपछि लक्ष्मी फेरि कोरिया गएकी हुन् । कोरिया गएपछि उनको दिनचर्याको ग्राफ सधैँ उच्च स्थानमै छ । लक्ष्मी भन्छिन्, ‘सुरुमा दाइहरूसँग मिलेर नेपाली रेस्टुरेन्ट खोल्यौँ । त्यसपछि विस्तारै व्यापार व्यवसाय बढाउँदै अहिले रेमिट्यान्स, ट्राभल्स, क्याफे सञ्चालित छ ।’
शब्दमा उल्लेख गरेजसरी नै यति चाँडै उनको प्रगति पक्कै पनि भएको होइन । किनभने उनले त्यहाँ गरेको संघर्षहरू शब्दमा अट्ने खालका छैनन् । किनभने सफलता हासिल गर्न उनले गरेको संघर्ष झण्डै एक–डेढ दशकको अथक मेहनत र परिश्रम पनि जोडिएको छ । सन् २००३ मा पुगेकी उनले सुरुमा अन्य महिला झैँ काम गरिन् । त्यसैताका उनले रेस्टुरेन्टको संख्या बढाउँदै अन्य व्यवसाय विस्तार गर्दै लगेकी हुन् ।
सन् २००६ मा दक्षिण कोरियामा एनआरएनको स्थापना भयो । उनी पनि संस्थापनमध्येकै एक हुन् । उनी अझै सम्झिन्छिन्, ती सुरुका दिन, ‘संस्थासँगै आफ्नो व्यावसाय र परिवार अगाडि लैजानुपर्दा निक्कै कठिनाइ भोग्नुपरेको थियो । तर, विस्तारै सबै सामान्य हुँदै गयो ।’
अघिल्लो कार्यकालमा एनआरएनकी उपाध्यक्ष लक्ष्मीले यसपटक अध्यक्ष बन्न अन्य छ जनासँग प्रतिस्पर्धा गर्नुपरेको थियो । उनी भन्छिन्, ‘पुरुषलाई जस्तो सजिलो छैन राजनीति गर्न । अझ विदेशी भूमिमा त भनिसाध्य छैन । जे होस् अथक मेहनत र प्रयासले गर्दा ठाउँमा पुगेकी छु ।’
उनकै अग्रसरतामा महिला कामदारलाई समस्या आइपर्दा राख्ने सेल्टर पनि स्थापना गरिएको छ । कसैलाई गाह्रोसाह्रो पर्दा यहाँ निःशुल्क बस्न र खान पाउने उनले जानकारी दिइन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५