चैत १ गतेदेखि वैदेशिक रोजगारीका गुनासा सुनुवाइ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर सञ्चालन गर्ने भएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले मन्त्रालयमा नै श्रमिकका गुनासा सुन्न र तत्काल समस्या कार्यान्वयनमा पहल गर्न कल सेन्टर सञ्चालन गर्ने भएको हाे ।
नेपाली श्रमिक, वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाँदा भनेजस्तो काम, कमाइ नहुनेलगायत अन्य सेवा सुविधामा समेत समस्या आउने गरेका छन् । यस्तो समस्यामा पर्दा समेत तत्काल समस्याको सुनुवाइ नहुँदा श्रमिक थप मारमा पर्ने गरेका छन् ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसगँको सहकार्यमा मन्त्रालयमा नै रहने गरी कल एक साताभित्रदेखि सञ्चालन गर्ने तयारी गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए ।
मन्त्रालयले यसअघि पनि वैदेशिक रोजगार विभाग र मन्त्रालयभित्रै हेल्प डेस्क कल सेन्टर सञ्चालनमा ल्याएको थियो। तर त्यो हेल्प डेस्क टेलिफोन सेवाको प्रभावकारी प्रयोजन नहुँदा त्यसलाई निरन्तरता दिन नसकेको मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगार पीडितको गुनासो सुनुवाइका लागि आवश्यकता अनुसार कल सेन्टर सञ्चालनमा ल्याउने तयारी गरे पनि २४ सै घण्टा गुनासा पीडितले गुनासो राख्न पाउने गरी तयारी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।
पीडितको गुनासो सुनुवाइका लागि स्थापना हुन लागेको कल सेन्टरमा उपलब्ध सबै खालका सामाजिक सञ्जालबाट पीडितले आफ्ना गुनासा राख्न पाउने व्यवस्था गरिने भएको छ । कल सेन्टरमा गुनासो सुनुवाइ वा टिपोट फोनमार्फत मात्रै नभएर फेसबुक, इमो, भाइबर, ह्वाट्स एपलगायत विभिन्न सामाजिक सञ्जालमार्फतसमेत गर्न सकिने व्यवस्था गरिने बताइएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५