काठमाडौं ः लियोनल मेस्सी सन् २०१८ को विश्वकप फुटबलपछि पहिलोपटक अर्जेन्टिनी राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।
रसिया विश्वकपको प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित भएर घर फर्किएपछि हालसम्म मेस्सी अर्जेन्टिनी टोलीमा परेका थिएनन् ।
बार्सिलोना र अर्जेन्टिनाका ३१ वर्षीय स्ट्राइकर मेस्सीले विश्वकपपछिका ६ वटा मैत्रीपूर्ण खेल गुमाएका छन् । उनलाई यसै महिनामा भेनेजुएला र मोरोक्कोविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोलीमा छनोट गरिएको छ ।
यसैगरी पेरिस सेन्ट जर्मेनका मिडफिल्डर एन्जेल डि मारिया पनि विश्वकपपछि पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । प्रिमियर लिगका चार जना खेलाडी प्रशिक्षक लियोनल स्कालोनीको टोलीमा बोलाइएका छन् ।
जसमा म्यान्चेस्टर सिटीका सेन्टरब्याक निकोलास ओटामेन्डी, टोटनह्याम डिफेन्डर जुवान फ्योथ, वाटफोर्डका मिडमिल्डर रोबर्टो पेरेरा र वेस्टह्यामका प्लेमेकर म्यानुअल लान्जिनी रहेका छन् । तर टोटनह्यामबाट खेलिरहेका इरिक लामेला र पाउलो गजानिगालाई भने टोलीमा बोलाइएको छैन ।
यसैगरी इन्टरमिलानका स्ट्राइकर माउरो इकार्डी उपस्थित हुने छैनन् भने म्यान्चेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो पनि विश्वकपपछि टोलीमा परेका छैनन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले देशका लागि १२८ खेलमा ६५ गोलसहित कीर्तिमान कायम गरेका छन् । उनले २०१६ को कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे पनि २ महिनापछि पुनः राष्ट्रिय टोलीमा फर्काइएको थियो । ५ पटकका बालोन डि’ओर विजेता मेस्सीले सन् २००८ मा ओलम्पिक स्वर्ण जिताउनुबाहेक देशलाई भने कुनै मुख्य प्रतियोगिताको उपाधि जितेका छैनन् । सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को कोपा अमेरिका कपको फाइनलमा चिलीसँग स्तब्ध बनेको थियो ।
सन् २०१७ को कोपा अमेरिका कप आगामी जुन १४ देखि ७ जुलाईसम्म ब्राजिलमा हुँदै छ । अर्जेन्टिना रहेको समूह बीमा कोलम्बिया, पाराग्वे र सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतार रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५