भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरमा सञ्चालित दोस्रो मेयर कप फुटबलको फाइनलमा भोजपुर ७ र आम्तेक ११ आमने सामने हुने भएका छन् ।
भोजपुरको स्थानीय टुँडिखेलमा फागुन १७ गतेबाट सञ्चालित खुला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलबाट भोजपुर नगरपालिका ७ र आम्तेक ११ फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालयको टिमलाई ३ का विरुद्ध ७ गोलले हराउँदै भोजपुर नगरपालिका ७ को टिम फाइनल प्रवेश गरेको हो भने दोस्रो खेलमा सेनाको रणबम गणको टिमविरुद्ध ३ गोल गर्दै आम्तेक ११ को टिम फाइनलमा प्रवेश गरेको हो । रणबम गणका तर्फबाट भने गोल हुन सकेन ।
सेमिफाइनल खेल सकिएसँगै शुक्रबार भोजपुर नगरपालिका ७ र आम्तेक ११ का बीचमा दिउँसो १ वजे फाइनल खेल हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । प्रतियोगितामा भोजपुरका १५ र खोटाङको १ टिम गरी १६ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने र दोस्रो हुनेले टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी र प्रमाण पत्र पाउने छ । आयोजकका अनुसार सेमिफाइनलमा पराजित हुने जिल्ला प्रहरी कार्यालय र रणबम गणको टिमले पनि १०÷१० हजार रुपैयाँ सान्त्वना पुरस्कारका रूपमा पाउने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५