विराटनगर : कांग्रेस सभापति शेरबहादुर देउवाले शेखर कोइरालाकै कारण पार्टीमा विवाद निम्तिएको बताएका छन् ।
कोइरालाले कतिपय कार्यक्रममा गएर जथाभावी बोलेर रडाको मच्चाएको उनको दाबी थियो । अति भएपछि आफूले जवाफ फर्काएको उनको भनाइ छ । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन् ।
कोइराला नेतृत्वमा आउनै नपाउने, चुनावमा उठ्नै नपाउने जस्ता कुरा आफूले नगरेको र आगामी दिनमा पनि नगर्ने भन्दै उनले भने, ‘जथाभावी बोल्दै हिनेपछि जवाफ फर्काएको हात्रै हुँ ।’
आफूले जथाभावी नबोल्न सम्झाए पनि उनले नटेरेको देउवाको देउवाको भनाइ छ । उनले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ, यहीँ पनि भनेको हुँ, । तर, उहाँले नटेरेपछि जवाफ दिएको हुँ ।’
देउवाले पार्टीको चौधौं महाधिवेशन समयमै हुने बताउँदै कार्यकाल लम्ब्याउने पक्षमा नरहेको जानकारी गराए । सभापति को भनेर निर्वाचनले बताउने भएकाले अहिले नै यसबारेमा बखेडा झिक्नु जरुरी नभएको उनको भनाइ थियो ।
चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरू बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको टिप्पणी गरे । कोइरालाबारे नकारात्मक टिप्पणी नगरेका देउवाले उनलाई अनुशासनको कार्बाही भने नगर्ने बताए ।
वाइडबडी विमान खरिदमा घोटालाबारेको राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली बिरामी भएकाले यसबारेमा नबोल्ने बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५