काठमाडौं ः सरकारसँग ३ बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ ।
केही दिनयता काठमाडौंको माइतीघर र नयाँ बानेश्वरमा केन्द्रित आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार ३ बुँदे सहमति भएको थियो ।
सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् ।
मन्त्रालयले ती शिक्षकसँग ‘राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक/खुला प्रतियोगितात्मक परीक्षामा एकपटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्ने’ सहमति भएको हो । सहमतिमा आन्दोलनका क्रममा भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने पनि उल्लेख छ ।
ती शिक्षकले यही फागुन २१ गते आन्दोलनका क्रममा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरी विद्यालय बन्दको घोषणासमेत गरेका थिए । -रासस
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५