काठमाडाैं : आगामी फागुन २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना हुने भएको छ।
राष्ट्रिय किसान आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो।
‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको सो सम्मेलन मुलुकलाई समृद्ध बनाउने गरी किसानको अधिकार र कृषि क्षेत्रको विकासका लागि आवश्यक नीति तय गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको आयोगका प्रवक्ता रविन्द्र केसीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएकाे सो सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नेछन्।
३ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करीब ३ सय ५० जनाको सहभागिता रहनेछ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५