राणा शासन अन्त्यका लागि ‘हजुरबुबा पुस्ता’ले गरेको योगदानका बारे अहिलेका धेरैलाई थाहा नहुन सक्छ । झण्डै ६८ वर्ष पहिले भएको राणा शासनविरोधी अभियन्ताहरूमध्ये धेरैको मृत्यु भइसकेको छ । १०४ वर्षे जहानिया राणा शासन अन्त्य गर्न अर्थात प्रजातन्त्र ल्याउनमा धेरैले योगदान दिए । त्यसबेला राणाको विरोधमा प्रत्यक्ष लड्नेहरूले मात्रै दुःख पाएनन्, सर्वसाधारण जनताले पनि उत्तिकै दुःख पाएका थिए । त्यस घटनाका साक्षीमध्ये एक पत्रकार भैरव रिसाल पनि हुन् ।
‘२००७ सालमा जम्माजम्मी मेरो योगदान भनेको एउटा जुत्ता हो’, भैरव रिसालले भने, ‘राजा त्रिभुवन दिल्ली गएको बखत भारत र अंग्रेजका तर्फबाट नेपालमा राणा वा राजा कसको पक्षमा जनमत छ भनेर बुझ्न आएका प्रतिनिधिलाई हेर्न विमानस्थल जाँदा भएको भागदौडमा मरो एउटा जुत्ता हराएको थियो ।’
राजाको समर्थन र विरोधमा नारा लाग्न थालेपछि त्यस वेलाका सुरक्षाकर्मीले लाठी चार्ज गर्दा भागाभाग भएको थियो । कतिपय पक्राउ परेका थिए । तीनधारा पाठशालामा पढिरहेका रिसाल साथीहरूसँग मिलेर विमानस्थल गएको सम्झिँदै भन्छन्, ‘भाग्ने क्रममा धोवी खोलामा जुत्ता हिलोमा भासिँदा निकाल्नै नसकी छाड्नुपरेको थियो ।’
राणा शासन अन्त्यका लागि नेपालमा त्यतिबेलाका राजनीतिक दल कांग्रेस र कम्युनिष्टहरूले निकै ठूलो संघर्ष गरे । त्यसअघि पनि प्रजा परिषद्लगायत संगठन र केही सचेत लेखक, साहित्यकारले राणा शासनको विरोधमा विभिन्न कार्यहरू गरिरहेकै थिए । राणाहरूको थिचोमिचो र अन्यायका विरुद्ध लड्ने क्रममा गंगालाल, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीहरू शहीद भए ।
‘राणा कि राजा त्रिभुवन बलिया’ भनेर बुझ्ने उद्देश्यले नेपाल आएका उनीहरू त्यसै दिन फर्किएका थिए । ‘भर्खरै बन्दै गरेको विमानस्थल त्यस बेला गौचरणकै रूपमा प्रयोग हुन्थ्यो’, भैरव रिसालले त्यस बेलाको विमानस्थलको चित्रण गर्दै भने, ‘हवाईजहाज आउँदा सिंगो काठमाडौं थर्किन्थ्यो । हवाईजहाज आउँदा पूरै रमिता हुने गथ्र्यो ।’
विमानस्थलमा भारत सरकारले पठाएका ती दुई प्रतिनिधि झर्नेवित्तिकै राजाका पक्षमा नाराबाजी सुरु भयो । ती प्रतिनिधिले राणाको समर्थनमा जनमत नदेखेको हुनाले पनि राणा शासनको अन्त्य भएको हुनसक्ने रिसालको बुझाइ छ ।
त्यसबेला प्रहरीका आईजी चन्द्रबहादुर थापा थिए । उनी नामुद नुनको सोझो गर्ने खालका भएको रिसाल बताउँछन् । राणाका आईजी भएका हुनाले उनले आन्दोलन दमन गर्ने प्रयास गरेका थिए । केही दमन गर्न नखोजेका पनि होइनन् । उनले पठाएको लहरीमा अट्न सक्नेजतिलाई पक्राउ गरेका थिए । रिसालका अनुसार त्यसबेला पक्राउ गरेर मुद्दा चलाउने हुँदैनथ्यो ।
२००७ सालको त्यो घटनामा आफू ठूलै भए पनि राजनीतिक चेत खासै पलाई नसकेको उनी बताउँछन् । भन्छन्, ‘१५ वर्ष पुगेपछि मात्रै केही राजनीतिक चेत पलायो ।’ पछि बुझ्दै जाँदा त्यस बेलाका घटनाक्रमहरू विस्तारै स्मृतिमा आएको उनी बताउँछन् ।
‘त्यस बेलाका कुरा गर्ने हो भने नेपालमा जनसंख्याको ३ प्रतिशत पनि साक्षरता थिएन । यस्तो अवस्थामा सामाजिक तथा राजनीतिक चेत हुने कुरै भएन’, रिसालले भने ।
राजा त्रिभुवनको सम्पूर्ण परिवार दिल्ली गएपछि बसेको भारदारहरूको सभाले अब के गर्ने भनेर छलफल गरेको थियो । २९८ सदस्सीय समितिले राजगद्दी खाली राख्नुहुन्न भनेर काठमाडौंमै रहेका त्रिभुवनका माहिला नाति, तात्कालीन युवराज महेन्द्रका माहिला छोरा ज्ञानेन्द्रलाई ४ वर्षकै उमेरमा राजा बनाएका थिए । उक्त सभामा साहित्यकार बालकृष्ण सम पनि सहभागी थिए ।
युगकवि सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुरहरू त्यसबेला पढेलेखेकामध्येमा गनिन्थे । रिसाल भन्छन्, ‘बरु भट्टी खोल्न छुट पाउँथे तर स्कुल खोल्दा थुनिनुपर्ने अवस्था थियो ।’ परिवर्तन चाहनेहरूमध्ये कतिले लाठी खाए त कतिले गोली । पुष्पलालकी बहिनी पुष्पलता जुलुसमा जाँदा उनले पनि पिटाइ खाएकी रिसाल स्मरण गर्छन् ।
(आजको न्युजकर्मी मनोज श्रेष्ठसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५