पर्वत : लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको पर्वतबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । केही वर्षअघिसम्म बोटबाटै झरेर खेर जाने लप्सीले आजभोलि उचित मूल्य पाउनुका साथै र बिदेशमा समेत निर्यात हुन थालेपछि कृषक थप उत्साहित बनेका छन् ।
लप्सी संकलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकको लप्सी खरिद गरेर प्रशोधन गर्दै आएको छ ।
उद्योगबाट उत्पादित माडा, अचार, क्यान्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्यान्डीलगायतका परिकार निर्यात गरिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । यस वर्ष उद्योगले कुल १३० टन लप्सी संकलन गरेकामा अहिलेसम्म ६० टन लप्सी प्रशोधनपछि बजारमा गएको छ भने ७० टन लप्सी प्रशोधन क्रममा छ । गत वर्षको यही समयसम्म ४० टन मात्र लप्सी प्रशोधन गरेको उद्योगले अघिल्लो वर्षको तुलनामा २० टन बढी प्रशोधन गरिसकेको छ ।
उद्योगले पर्वत र बागलुङबाट लप्सी संकलन गरेर प्रशोधनपछि देशका विभिन्न जिल्लासहित विदेशमा पनि निर्यात गर्दै आएको छ । ‘अहिलेसम्म प्रशोधन गरिएको लप्सी स्थानीय बजार र अमेरिका पुगिसकेको छ,’ भुसालले भने, ‘कोरियाबाट पनि माग आएको छ, अब प्रशोधन गरिएको कोरिया पठाउँछौं ।’
उनका अनुसार यो वर्ष प्रशोधित लप्सीको बिक्रीबाट २० लाखभन्दा बढी कमाइ हुने अपेक्षा गरिएको छ । २०५८ मा स्थापना भएको उद्योगमा बर्सेनि नाफा बढ्दै गएको छ । उद्योग स्थापनापछि बसाइँसराइ र अन्य कारणले पनि बाँझो रहेका जिल्लाका पाखाबारी तथा खाली जमिनमा लप्सी लगाउने होड चलिरहेको छ । कम लगानीमै बलियो आम्दानीको स्रोत बन्दै गएपछि कृषकको लप्सी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । -रासस
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५