सोलुखुम्बुको नाम्चेमा जन्मिएका कान्छा शेर्पा सगरमाथाको पहिलो सफल आरोहण हुँदा एक सहयोगी सदस्य थिए । सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखर चुम्दा उनी हाई अल्टिच्यूड पोर्टरको रूपमा सदस्य थिए । पहिलो सगरमाथा आरोहण दलका सदस्य बनेका शेर्पा मात्र अहिले जीवित छन् । अहिले उनी ८७ वर्षका भए ।
उनले सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्दा आफू पनि सगरमाथा शिखर नजिक पुगेको बताए । सोलुखुम्बुको नाम्चे बजारमा आलुबाहेक केही फल्दैन । त्यहाँका स्थानीयहरू वर्षभर खान नपाएपछि केही न केही काम गर्ने सोचले जिल्लाको तल्लो भेग झर्ने गर्थे भने कोही अन्यत्र काम गर्न जाने गर्थे । २० वर्ष मात्र पुगेका कान्छा शेर्पा पनि रोजगारीको खोजीमा तेन्जिङ नोर्गे शेर्पालाई खोज्दै भारतको दार्जिलिङ पुगे । बुबासँग चिनजान भएको नाताले उनको नाम लिएर दार्जिलिङ गएका शेर्पाले ३ महिना उतै काम गरे ।
३ महिनापछि तेन्जिङ नोर्गे शेर्पासहित कान्छा शेर्पा रक्सौलसम्म रेलमा आए । रक्सौलबाट भने ३ दिन हिँडेर काठमाडौं आइपुगे । काठमाडौं उपत्यका आएपछि भक्तपुरमा क्याम्प खडा गरे । भक्तपुरमा एक साता बसेर सबै खाद्यान्न, हिमाल अरोहणका लागि आवश्यक भारी बोक्ने भरियाको व्यवस्था गर्ने काम गरे । ४०० भरियाको व्यवस्था भक्तपुरबाट नै भयो । त्यही समयमा न्यूजिल्याण्डका एडमण्ड हिलारीसहितका १५ जनाको आरोहण टोली नेपाल आयो । पहिलो पटक एडमण्ड हिलारीलाई भक्तपुरमै देखेको कान्छा शेर्पाले बताए । ठूलो ज्यान, गोरो सर्लक्क परेको शरीर, नीला आँखा, हेर्दै खाइलाग्दो ज्यान । हिलारीलाई औसत नेपालीभन्दा ठूलो देख्दा डर लागेको पनि सुाए ।
कान्छा शेर्पासँग अझ पनि ऊबेलाको याद ताजै छ । एक साताको भक्तपुर बसाइपछि सगरमाथा आरोहण टोलीको तयारी पूरा भयो । पहिलो दिनको यात्रा । ४०० भरियासहित बनेपा गएर बसे । भरियाका लागि बासको व्यवस्था गर्न मुस्किल हुने भएकाले ४ समूह बनाएर बस्नुपरेको कुरा सम्झन्छन् उनी । दोस्रो दिन काभ्रेको पाँचखाल, तेस्रो दिन दोलालघाट हुँदै १६ दिनमा सोलुखुम्बुको नाम्चे बजार पुगे । नाम्चे बजारबाट सबै भरिया फर्काएपछि सबै भारी याकबाट ढुवानी भयो । त्यो समयमा सगरमाथा जाने बाटो कसैलाई थाहा थिएन । कान्छा शेर्पा नाम्चेमै जन्मिएका भए पनि उनलाई पनि थाहा थिएन ।
त्यतिबेला सगरमाथालाई सगरमाथा र माउण्ट एभरेष्ट नभनेर चोमोलोङ्मा भन्ने गरिन्थ्यो । नाम्चेका स्थानीयले नाम मात्र सुनेकाले त्यहाँ जाने बाटो हुने कुरै भएन । एक साता नाम्चे बसाइपछि २० जना हाई अल्टिच्युड पोर्टरका रूपमा गएका नेपालीहरू र १५ जना आरोहण टोली नाम्चेबाट हिँड्न सहज हुने ठाउँको बाटो हुँदै तेङ्बोचे पुगे । तेङ्बोचेमा गुम्बा भए पनि मानव बस्ती थिएन । बाटो पहिचान गर्दे टोली अगाडि बढ्यो । अगाडि जाँदै गर्दा पाङ्बोचेमा सानो बस्ती थियो । अहिले गोरक्सेपसम्म मानवबस्तीे भए पनि त्यसबेला पाङ्बोचेभन्दा माथि कतै बस्ती नभएको पनि सम्झन्छन् कान्छा ।
बाटो पहिल्याउन सहज थिएन । अन्दाजको भरमा बाटो पहिल्याउँदै सगरमाथाको आधार शिविर पुगेको उनले बताए । पाङ्बोचे, फेरिचे, लवुचे, गोरक्सेप हुँदै ६ दिन हिँड्दा सगरमाथाको आधार शिविर भएको स्थानमा सबै टोली पुगे । सम्म परेको ठाउँ, त्यहीँ शिविर बसाउने सल्लाह भयो । शिविर बसाएर त्यही ठाउँलाई अहिले पनि आधार शिविर मानिने गरेको कान्छा शेर्पाको भनाइ छ ।
अचम्मको कुरा, त्यसताका सगरमाथा आधार शिविर आसपास हरियो घाँस पनि भएकाले भारी बोकाएर लगेका याकहरूले आधार शिविरमा चर्न पाएको सम्झन्छन् उनी । अहिले घाँसपात, जडिबुटी नहुनुको कारण अव्यवस्थित फोहोर र प्रदूषण भएको उनको भनाइ छ । यसरी फोहोर, जलवायु परिवर्तन र बढेको ग्ल्यासियरको कारण सगरमाथा कुरूप बनेकामा कान्छा शेर्पा चिन्तित छन् ।
सगरमाथा आधार शिविरमा पनि एक साताको बसाइपछि टोली पुनः माथि क्याम्प खडा गर्दै बाटो खोज्दै अगाडि बढेर क्याम्प एकमा पुग्यो । एक नम्बर क्याम्पबाट दुई नम्बर, तीन नम्बर क्याम्प र चार नम्बर क्याम्पसम्म क्याम्प खडा गर्दै आवश्यक खाद्यान्न र अक्सिजन ओसार्ने काम गरिएको र बाटो बनाउने काममा पनि सहभागी भएको कान्छाले सुनाए ।
एकै दिन अकालमै केही गरूँ उमेरका आरोहण सहयोगीहरू हिमपहिरोमा परेर मरेको देखेपछि मेरो सन्तानले मैले गरेको दुःख गर्नु नपरोस् भने छोराछारी र नातिनातिनालाई हिमालमा नपठाएको र नपठाउने कान्छाको भनाइ छ ।
क्याम्प दुई–तीनबाट सबै सदस्य जान नसकेपछि तीन जना हाई अल्टिच्युड पोर्टरहरू भने ८ हजार ६९० मिटर साउथ समिटसम्म पुगेको कान्छा सम्झिन्छन् । साउथ समिटबाट शिखर नजिकै रहेकाले आरोहण गर्न सक्छु भन्ने आँट हुँदाहुँदै पोर्टर भएकाले रहर पूरा गर्न नपाएकामा शेर्पालाई थकथकी छ । एक दिन शिखर चुम्छु भन्ने सोच हुँदाहुँदै हिमालमा काम गर्न छाडेको उनी बताउँछन् ।
सन् १९५३ मे २७ का दिन साथीहरू दावा तेन्जिङ शेर्पा र छुतारे शेर्पासहितको ३ जनाको टोलीले साउथ समिटमा पुगेर टेन्ट टाँग्ने काम गरे । साउथ समिटमा टेन्ट टाँगेर ८ हजार मिटर उचाइ साउथ कोलमा सुतेको बताए । साउथ कोलमा तीन जनाको टोली फर्किसकेपछि एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा मे २८ का दिन साउथ समिटको पालमा सुतेर २९ तारिखमा सफल आरोहण गरेका हुन् ।
मे २९ गतेको दिन बिहानै सगरमाथाको शिखर चुम्न गएका २ जनाले दिउँसोको १ बजे शिखर चुमेको कान्छा शेर्पाले साउथ कोलमै थाहा पाए । वाकीटकीमार्फत् आफूले थाहा पाएपछि सबै सदस्यहरू खुसी भएको उनी गर्वका साथ बताउँछन् । शिखरको सफल आरोहण भइसकेपछि माथिबाट ‘दुई नम्बर क्याम्प झर्नु, हामी आउँदै छौँ’ भन्ने खबर आएपछि साउथ कोलबाट उनीहरू क्याम्प दुईमा आएको र एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा पनि दुई नम्बर क्याम्पमै आइपुगेपछि सबैले एक घण्टाजति खुसी साटासाट गरेको उनले बताए । लगत्तै आरोहण दलका सदस्यहरू आधार शिविर झरे । हाई अल्टिच्युड पोर्टरको रूपमा गएका नेपालीहरूले भने क्याम्प दुई र क्याम्प एकमा रहेका सामानहरू आधार शिविरमा झार्नका लागि क्याम्प दुईमा बसेको सम्झन्छन् ।
एक साताको बसाइका क्रममा आवश्यक तथा राम्रा र काम लाग्ने सबै सामान आधार शिविरमा झारिएको र काम नलाग्ने स्टोभ र ग्याँसको खोल तथा बाँकी खानेकुरा माथि क्याम्प दुईमै छाडेको सुनाए कान्छाले । दुई–चार वर्षसम्म खाद्यान्न अरू आरोहण दलका सदस्यहरूले खाएको भन्ने सुनेका रहेछन् उनले ।
दैनिक ८ रुपैयाँले ९० दिनको सम्झौतामा सगरमाथाको आरोहण दलको सदस्या बनेका कान्छा शेर्पाले ४५ दिन काम गर्न पाए । तर तलब भने ९० दिनको ७२० रुपैयाँ नै पाएको बताए । ज्यालाभन्दा टिप्स धेरै पाएको सुनाउने कान्छा शेर्पाले न्यूजिल्याण्डले मेडल पठाएको पाउँदा धेरै खुसी भएको सुनाए ।
सन् १९५३ देखि सगरमाथाको आरोहण दलको सदस्यको रूपमा हिमालको उच्च क्षेत्रमा जान पाएका शेर्पाले सन् १९७३ सम्म हिमालमै काम गरे । काम गर्दागर्दै सन् १९७३ मा एकै दिन हिमपहिरोमा परेर ८ जनाको मृत्यु भएको देखेपछि उनले हिमालमा काम गर्न छाडे । उनी आफैँ पनि निराश भएको समयमा परिवारले पनि जान नदिएको शेर्पाले बताए । एकै दिन अकालमै केही गरूँ उमेरका आरोहण सहयोगीहरू हिमपहिरोमा परेर मरेको देखेपछि मेरो सन्तानले मैले गरेको दुःख गर्नु नपरोस् भने छोराछारी र नातिनातिनालाई हिमालमा नपठाएको र नपठाउने कान्छाको भनाइ छ ।
सगरमाथाको आरोहण गर्ने अनुमति आफूसँग नभएर सगरमाथाको आरोहण नगरेको बताउने शेर्पासँग यदि अनुमति भएको भए दुई दिनअघि नै आरोहण गर्न सफल हुने सुनाउँछन् । उनीसँगैका २ जना साथीहरू ८ हजार ६९० मिटर अग्लो स्थानसम्म पुगेका थिए ।
हिमालमा काम गर्न नपाए पनि कान्छा शेर्पा फाउण्डेशनमार्फत सामाज सेवा भने गरिरहेको उनी बताउँछन् । अहिले सोलुखुम्बु र काठमाडौंका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत बालबालिकाहरूलाई सहयोग गरिरहेको उनले बताए । उनका २ छोरा, २ छोरी र ८ जना नातिनातिना छन् । अहिले शेर्पा नाम्चेमै बस्ने गरेका भए पनि चिसो सहन नसकेर हिउँदमा ४ महिना भने काठमाडौं बस्ने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५