युवा पुस्तालाई सबैभन्दा धरै आकर्षित गर्ने पर्वमध्यको एक हो- शिवरात्रि । युवा पुस्ता शिव भगवानको बिन्दास शैली र मस्त मगन स्वभाव धेरै रुचाउँछ । त्यसैले पशुपतिमा प्रायजसो युवा पुस्ताको उल्लेख्य उपस्थिति हुन्छ । आरति, भजन र सेवामा दत्तचित्त भएर लाग्ने यो जमातका लागि शिवरात्रि दशैँभन्दा कम होइन । यसो त सबै उमेरका मानिसहरू पशुपतिनाथमा आउँछन् । ईश्वरको समर्पणमा लिप्त हुन्छन् । तर तन्नेरी जमातको शिवप्रतीको लगाव बिछट्टै छ ।
कीर्तिपुर, पाँगा बस्ने सुप्रिम गौतमले यसपालिको शिवरात्रि इभ पशुपति परिसरमै बिताए । रातभर पशुपतिमा बिताउने धोको कहिल्यै पूरा भएको थिएन उनको । यसपालि आँटेरै पूरै रात पशुपतिमा बिताए साथीहरूसँग । रातभर नाच्ने, गाउने गरे । भित्री अनुभूति भन्दा पनि बाह्य अनुभवका लागि उनी पशुपति गएका रहेछन् । शिवरात्रिको बेला पशुपतिनाथ वरपरको वातावरण, हल्लाखल्ला, मानिसहरूबीचको उत्साह आदि कुरा बुझ्न उनलाई रुचि रहेछ ।
हुनत यसपालि पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखन निषेध गरिएको छ तर पनि वर्षमा एक दिन महादेवको प्रसाद लुकीलुकी खानेहरूको कमी छैन । वर्षमा एक पटक एक-दुई सर्को तान्ने परम्पराले गर्दा पनि शिवरात्रितर्फ आकर्षित छ युवा पुस्ता । हुनत शिवरात्रि एक दिनको चाड हो तर त्यसको प्रभाव सप्ताहभरि हुन्छ । हप्ताभरअघिदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजन र बाबाहरूको भीड लाग्न थाल्छ । यही भीडमा गौतम जस्ता तन्नेरी पुस्ता मिसिन्छन् र रमाउँछन् ।
भक्तपुरका पोषक थापाको अनुभव भने अलिक भिन्न छ । बाल्यकालमा बुबाआमाले शिव मन्दिरमा पूजा गरेर प्रसाद खान दिँदा उनलाई रमाइलो लाग्थ्यो । त्यही संस्कारमा उनी हुर्किए । घरमा पनि शिवकै फोटो, मनमा पनि शिवकै बास । पारिवारिक लगावकै कारण उनी शिवका भक्त भए । हुर्किंदै गर्दा शिवरात्रिका दिनहरूमा गाँजा, भाङको स्वाद लिने मौका पाए । सामाजिक रूपमा नै यो दिन गाँजा छुट भएकाले गर्दा यो दिन कुर्न थाले उनी । गाँजामा लठ्ठिएर बस्ने मात्र नभई साथीहरूसँगको मिलाप, गफगाफ, दु:ख-सुख साटासाटका लागि यो दिनले मौका दियो । यस दिन साथीहरूबीच गेट टुगेदर हुन्छ, रमाइलोमाथि रमाइलो नि , उनले सुनाए ।
शिवरात्रि एक किसिमले युथ कल्चर को रूपमा विकसित भइरहको छ । शिवरात्रिका बेला शिवको टिसर्ट लाउने, मफ्लर भिर्ने, सामाजिक संजालमा शिवको फोटो राख्ने, शिवका किस्साहरू सुनाउने, ताण्डव नृत्यका भिडियोहरू सेयर हुने आदि ह्वात्तै बढ्छ । सोसल मिडिया पूरै शिवमय हुन्छ । अरू बेला हाई हेल्लो मात्र गर्ने साथीहरू पनि यो बेला अँगालो हाल्दै जय शम्भो भन्न थाल्छन् । अरू बेला बिरलै भेट्नेहरू पशुपतिमा भेट्ने योजना बनाउन थाल्छन् । पशुपति नजानेहरू पनि घरघरमा भाङको लड्डुको स्वाद लिँदै भजनमा लिप्त हुन्छन् ।
घोट्टा, भाङ, गाँजा धेरै नै खाएर हिँड्नु त पक्कै राम्रो होइन प्राय: युवाको यही बुझाइ छ तर यस पर्वमा शिवजीकै प्रसाद भनेर थोरै चाख्ने अनि विन्दास भएर शिवरात्रि मनाउने युवा पुस्ताको जमात पनि अहिले बढ्दो छ ।
दशैँ-तिहार जस्ता चाडपर्वमा समेत युवाहरूको रुचि घटिरहेको बेला शिवरात्रिप्रति भने आकर्षण बढ्दो देखिन्छ । तन्नेरी पुस्ताका लागि शिवरात्रि विन्दास पर्व हो । साथीहरूसँग भेट हुने र बेफिक्री रमाइलो गर्न पाउने भएकाले पनि यो पर्व रमाइलो लाग्ने गरेको उनीहरू बताउँछन् ।
महाशिवरात्रि मनाउनै भनेर लहानदेखि काठमाडौं आएका वसन्त पौडेल शिवका ठूलै भक्त हुन् । वसन्तका निम्ति महादेव नै सर्वव्यापी, सर्वसम्मत र अन्तरयामी हुन् । उनलाई थाहा छैन, कसरी यो लगाव उनीभित्र आयो भनेर तर होस खुलेदेखि नै उनी महादेवको शरणमा छन् । महादेव नै उनका निम्ति एक हुन् । सब हुन् । उनी मिलेसम्म हरेक वर्ष शिवरात्रिमा काठमाडौं आउँछन् । हप्ताभर बस्छन् । कसैसँग भेट्दैनन् । पशुपति वरपर नै आफ्नो समय बिताउँछन् । यो एक हप्ताको समयले वर्षभर उनी रिचार्ज हुन्छन् । मनमा अचम्म किसिमको शान्ति मिल्छ मलाई । शिवसँग भित्री कनेक्सन छ जस्तो लाग्छ , उनी भन्छन् ।
शिवरात्रिमा भारतबाट आउने बाबाहरूको भीड लाग्ने गर्छ पशुपतिमा । बाबाहरूको यो समूहले सधैँ युवा पुस्तालाई आकर्षित गर्छ । बाबाहरूको गतिविधि, पहिरन, स्वभाव र विन्दासपन देखेर नेपाली युवा पुस्ता मोहित हुन्छ । उनीहरूसँग फोटो खिचाउन तन्नेरीहरूको भीड लाग्छ । युवा मात्र नभई युवतीहरू पनि ती बाबासँग फोटो खिचाइरहेका भेटिन्छन् ।
कलंकीका सुमन मानन्धरले केही वर्षअघि पहिलो पटक शिवरात्रिका दिन गौशालामा भाङ हालेको लड्डु खाएका थिए । त्यो लड्डुले गर्नु गर्यो । आकाशबाट खसिरहेजस्तो, जमिन तल भासिइरहेको जस्तो, हावामा उडिरहेको जस्तो । कस्तोकस्तो । त्यसपछि दिनभर कता गइयो, के गरियो पत्तै भएन । बेलुका कोठामा पुगेको हल्का याद छ । भोलिपल्टसम्म झ्याप पारिरहेको थियो , उनले हाँस्दै सुनाए । त्यसपछि भने उनलाई भाङ खान नहुने रहेछ भन्ने महसुस भयो तर शिवरात्रिको दिन एक दुई पफ गाँजाचाहिँ तान्छन् उनी ।
अरू बेला लुकीलुकी गाँजामा मस्त हुनेहरूलाई शिवरात्रि एक त जोगी, त्यहीँमाथि भाङ खाएको झैँ हुन्छ । यस्ता तन्नेरीहरू थुप्रै भेट्टिन्छन् । नाम नखुलाउन चाहने एक युवकले भने, भगवानले समेत खाने चिजलाई प्रतिबन्धित गरिएको छ । संसारभर फुकुवा गरिँदै छ तर हामीकहाँ अझै संकीर्ण सोच ग्रस्त छ । यसलाई औषधिको रूपमा प्रयोग गरिँदै छ । विभिन्न अनुसन्धानले यसको राम्रो पक्ष धेरै भएको देखाइसकेको छ । हामीकहाँ भने शिवरात्रि कुर्नुपर्छ । तर यसपालि त त्यो पनि भएन , उनी निराश देखिए ।
नेपाली मात्र नभई पशुपतिनाथमा भारतबाट आउने साधुसन्तको घुइँचो लाग्छ । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन धेरै बढेको छ । महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषका बढेको सदस्य सचिव डा. प्रदीप ढकालले भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बताए । शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको उनले बताए ।
फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइएको कोषले बताएको छ ।
भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने बताएका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाई अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।
साधुसन्तका लागि आवश्यक नि:शुल्क भोजन, पानी, चिया र बसोबाससमेतको व्यवस्था मिलाइएको छ । चिसोबाट बच्नका लागि धुनी जगाउन दाउराको व्यवस्था पनि मिलाइएको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए । उनका अनुसार महाशिवरात्रि पर्वको पर्सिपल्ट एकादशीका दिन बाटो खर्चसहित साधुसन्त, जोगी–बाबाहरूका लागि बिदाइको व्यवस्थासमेत भइसकेको छ । यस्तै, दर्शनका लागि अशक्त र ज्येष्ठ नागरिकलाई विशेष खालको व्यवस्था रहेको र अन्यका हकमा लाममै बसेर दर्शन गर्नुपर्ने अधिकृत ढुङ्गानाले जानकारी दिए ।
त्यस्तै, आवास, भोजन तथा भौतिक पूर्वाधारका लागि हंसमण्डप, वनकालीको खुलास्थान, तीनगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी करीब सय संघसंस्थाले निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको कोषका प्रचार प्रसार संयोजक घनश्याम उपाध्यायले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५