नारायणपुर: प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको फाइनलमा बाँकेलाई आठ विकटले पराजित गर्दै दाङले उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको बाँकेले २० ओभरमा चार विकेट गुमाएर ९५ रन बनायो । सोनम पुनले सर्वाधिक २४, गीता गोसाईंले २० तथा सामना पुनले १४ रन बनाइन् । बलिङ तर्फ दाङकी लक्ष्मी चौधरीले दुई विकेट लिइन् । ९६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको दाङले १७ दशमलव ५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो । मधु डिसीले अविजित २४, सरस्वती जिएमले अविजित २२, लक्ष्मी चौधरीले २२ र नगिता पुनले १६ रन बनाइन् । बलिङतर्फ बाँकेकी गायत्री कश्यप र गीता गोसार्इंले एक/एक विकेट लिइन् । दाङकी लक्ष्मी चौधरी ‘वुमन अफ दी म्याच’ घोषित भइन् ।
जिल्लालाई महिला क्रिकेटमा उपाधि दिलाएका खेलाडीको पीडा भने बेग्लै छ । आयोजकले प्रतियोगितामा सेतो रङको जर्सी लगाएर खेल्न नदिएपछि खेलाडीले मागेर खेल खेलेका थिए । उनीहरुले दाङको घोराही क्रिकेट एकेडेमीको जर्सी मागेर खेलेका थिए ।
जिल्ला खेलकूद विकास समितिले जर्सी उपलब्ध नगराएपछि खेलाडी एक वर्षअघि ‘एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस’ले उपलब्ध गराएको पुरानो जर्सी बोकेर बाँके पुगेका थिए । सेतो रङको जर्सी लगाउन नपाइने भएपछि रातारात दाङबाट जर्सी मगाएर खेल्यौँ कप्तान शर्मिला रोकामगरले भने ।
प्रतियोगीतामा सहभागी अन्य जिल्लाका खेलाडीलाई जिल्ला खेलकूद विकास समितिले जर्सी उपलब्ध गराएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५