कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले आज पक्राउ गरेको छ ।
वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सब डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताए । कामी कृष्णपुर–४ का बासिन्दा हुन् ।
काठ काटिरहेको ठाउँबाट सालको गोलिया र आरासमेत बरामद भएको छ । ‘काठ काट्ने कार्यमा संलग्न अन्य ६ जना वन कार्यालयको टोली देखेर भागेकाले उनीहरूको खोजी गरिरहेका छौं,’ कार्यालय प्रमुख पण्डितले भने, ‘काठ काट्दै गरेको सालको रूखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको छ ।’
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५