पाल्पा ः डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिएपछि पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ ।
रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाटो विस्तार गरिएको हो । सडक विस्तारका क्रममा जथाभावी डोजरको प्रयोग गरी माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहान पुरिएपछि खानेपानीको समस्यासमेत देखिएको स्थानीयवासी नुरबहादुर बुढाथोकी गुनासो गरे ।
स्थानीयावासी गोविन्द भण्डारीका अनुसार मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको उच्च समस्या छ ।
स्थानीयवासीले प्रयोग गर्ने खानेपानीको मुहानमा सडक विस्तारका क्रमसँगै खानेपानीको मुहान सुकेपछि समस्या सिर्जना हुँदै आएको छ ।
जथाभावी सडक विस्तारले वातावरणसमेत बिग्रँदै गएको छ । गाउँमा जाने खानेपानीको ट्याङ्की र बजार जाने/आउने छोटो बाटो सबै पुरिएपछि समस्या भएको हो । बर्खाको समयमा पुनः समस्या हुन सक्ने चिन्ता छ ।
धजा बान्नेबाट तान्सिङगलसम्मको मोटर बाटो फराकिलो बनाएको रैनादेवी छहरा गाउँपालिका–२, वडाध्यक्ष जीवनाथ पोखरेलले बताए । मोटर बाटो उपभोक्ता समिति अध्यक्ष हरिप्रसाद पोखरेलले सडक विस्तारका क्रममा समस्या देखिएको बताए । उनले भने, ‘मोटर बाटो विस्तारका क्रममा देखिएका समस्या २ पक्षबीचको आपसी भेला गरी समाधान खोजिनेछ ।’
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५