काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधीको दौडमा रहेको लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ ।
एभर्टनसँगको बराबरीले लिभरपुलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो । लिभरपुलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको एभर्टनले यो बराबरीसँगै २९ खेलबाट ३७ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको लिभरपुलले भने समान खेलबाट ७० अंक जोडेको छ । शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७१ अंक छ भने तेस्रो स्थानको टोटनह्यामको ६१, चौथो स्थानको म्यान्चेस्टर युनाइटेडको ५८ अंक छ ।
यस्तै आइतबारराति नै भएको अर्को खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले फुलह्यामलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । चेल्सीको जितमा गोन्जालो हिग्वेन र जर्जिन्होले एक एक गोल गरे भने फुलह्यामका लागि कलम च्याम्बर्सले एक गोल फर्काए ।
जितपछि २८ खेल खेलेको चेल्सी ५६ अंक जोड्दै लिगको छैठौं स्थानमा छ । पाँचौ स्थानमा रहेको आर्सनलको २९ खेलबाट ५७ अंक छ । लिगअन्तर्गत अर्को खेलमा लेष्टर सिटी वाटफोर्डसँग २–१ गोलअन्तरले पराजित भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५