बैतडी ः मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि बैतडीको पुर्चौडी नगरपालिका–७ कोटिला घरमा हुने सुत्केरी शून्य वडा घोषणा भएको छ ।
घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई आइतबार एक कार्यक्रमबीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको कोटिला स्वास्थ्यचौकीका इञ्चार्ज सुमन लुहारले जानकारी दिए । गएको १ वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार ४ पटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमित रूपमा आइरन चक्की खाएको लगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।
कोटिला पुर्चौंडी नगरपालिकाको तेस्रो र जिल्लाको १२औं पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । पुर्चौंडीको वडा नं. १ हाट र वडा नं. ५ कुवाकोट यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका थिए ।
त्यसैबीच पुर्चौंडी नगरपालिकाले नगरपालिकाका २० जना अनाथ तथा टुहुरा बालबालिकालाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले प्रत्येक वडाका २/२ जनालाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको शाखा प्रमुख सरिता अवस्थीले जानकारी दिइन् ।
अनाथ तथा टुहुरा बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले सो कार्य गरिएको हो । नगरपालिकाले चालू आर्थिक वर्षमा टुहुरा तथा अनाथ बालबालिकाका लागि रकम छुट्याएको र सोही रकमबाट पोसाक र शैक्षिक सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५