धनुषा : मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशका ८ वटा पालिकाबाट शुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन आयोजना गरी माघ १ गते देखि नै लागू हुने गरी प्रदेशभर लागू गरिएको घोषणा गरे । प्रदेश सरकारले यस कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकालाई एक लाख २५ हजारको बीमा गर्ने छन् । बीमाको लागि प्रदेश सरकारले प्रभु बैंकसँग सम्झौता समेत गरी सकेको छ ।
प्रदेश सरकारले नवजात बालिकाको नाममा एक मुष्ट रकम जम्मा गरेपछि २० वर्षपछि बैंकले बालिकालाई एक लाख २५ हजार रकम एकमुष्ट उपलब्ध गराउने छ । तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बीचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ ।
बीमाको लागि नवजात छोरीको फोटो, आमा वा बुबाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ । छोरी बीमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवक समेत परिचालन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले रु ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५