हुम्ला ः हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएको २ महिनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका ३ गाउँपालिकाभित्र पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि समयमै पाठ्यपुस्तक भित्रिएका छन् ।
हिमाली जिल्लालगायत देशका अधिकांश जिल्लामा फागुनबाट शैक्षिक सत्र सुरु हुने गर्दछ । हुम्लामा फागुन २ गतेबाट शैक्षिक सत्र सुरु भएको छ । पाठ्यपुस्तक सिमकोट बजारमा रहेका स्टेसनरीमा आइपुगेका छन् तर हिमपातका कारण पठनपाठनमा समस्या भइरहेको छ ।
जिल्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ल्याउने जिम्मा लिएको साझा प्रकाशनका वितरक रोकाया सपिङ सेन्टरले यो वर्ष समयमा नै पाठ्यपुस्तक जिल्लामा पुर्याएको छ ।
जिल्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाले फागुन १७ गतेसम्म विद्यार्थी भर्ना मिति रहेकाले अब फागुन २० गतेबाट विद्यालयमा पठनपाठन कार्य सुरु गरिने मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । विगतका वर्षभन्दा यो वर्ष समयमा नै पाठ्यपुस्तक जिल्लामा पुगेकाले विद्यार्थीलाई पठनपाठन गर्न सहज हुने प्रधानाध्यापक शाहीले बताए ।
पुस्तक पसलबाट विद्यालयको विद्यार्थी संख्या हेरेर पाठ्यपुस्तक जिम्लामा लगेर वितरण गर्ने व्यवस्था रहे पनि हुम्ला जिल्लाको भौलिक कठिनाइ, पुस्तक ढुवानीको समस्याले गर्दा विद्यार्थीले आफैं किनेर लिने र पछि विद्यालयले बिल बराबरको रकम उपलब्ध गराउने गरेको शाहीले बताए ।
सरकारले माध्यामिक तहसम्मको पठनपाठन निःशुल्क गरेसँगै विद्यार्थीले पुस्तक निःशुल्क पाउने गरेका छन् । रोकाया पुस्तक पसलबाट ३ वटा गाउँपालिकामा अध्ययनरत विद्यार्थीले पुस्तक खरिद गरिरहेको सोही स्टेसनरीका सञ्चालक ज्ञानबहादुर रोकायाले बताए । यस वर्ष आफूले जिम्मा लिएको हुनाले ३ वटै गाउँपालिकामा पाठ्यपुस्तक अभाव हुन नदिने सञ्चालक रोकायाले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५