कलैया ः प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बाराको सदरमुकाम कलैयामा बृहत् सरसफाइ जागरण अभियानको शनिबार उद्घाटन गरे ।
जिल्लास्तरीय सरसफाइ स्वच्छता अभियान बाराको आयोजनामा सुरु भएको अभियान कार्यक्रममा मन्त्री सोनलले प्रदेश २ लाई नै सरसफाइ गर्नका लागि प्रदेश सरकारले अभियानका रूपमा लैजान घोषणा गरेको हुँदा अभियानलाई सार्थक बनाउन जिल्लावासीलाई आग्रह गरे ।
जिल्लालाई हराभरा, सफासुग्घर बनाउनका लागि यो अभियान प्रदेश सरकारले अघि बढाएको प्रस्ट पार्दै मन्त्री सोनलले सरसफाइले जीवनको हरेक पललाई सार्थक बनाउनमा मद्दत पुग्ने भएको हुँदा पनि १ घर १ शौचालयको अवधारणाअनुसार अनिवार्य रूपमा शौचालय निर्माण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सङ्घीय सांसद एकवाल मियाँ, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासलगायतले आफ्नो भनाइ राखेका थिए । सदरमुकाम कलैयाको विभिन्न भागमा सरसफाइसमेत मन्त्री सोनलको अगुवाइमा भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५