काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा गए राती निधन भएको छ ।
फोक्सो र मुटुको समस्याले ३ सातादेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको गए राती ९:३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा. भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराए ।
नेताअधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
तत्कालीन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानुन तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५