वालिङ ः यहाँका एक मिर्गौलापीडित व्यक्तिलाई उपचारका लागि १० लाख आर्थिक सहयोग गरिएको छ ।
वालिङ तथा आसपासका विद्यालयमा अध्यापनरत शिक्षक खुमबहादुर गुरुङको उपचारका लागि रकम संकलन गरी हस्तान्तरण गरिएको रकम संकलनका अभियानकर्ता टीकराज गुरुङले बताए ।
हाल वालिङ नगरपालिका–१ रामबाच्छामा बसोबास गर्दै आएका गुरुङको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सामाजिक सञ्जालमार्फत ‘सपोर्ट फर केबी गुरुङ’ अभियान सञ्चालन गरेपश्चात् देश तथा विदेशबाट सहयोग रकम प्राप्त भएको अभियानकर्ता टीकराजले बताए ।
केबी सरको उपचारका लागि सहयोग रकम आउने क्रम जारी छ, अभियानकर्ता गुरुङले भने, आगामी दिनमा प्राप्त भएको रकम पुनः हस्तान्तरण गरी उनको उपचारमा सहयोग गर्छौं ।
झन्डै २ महिनाअघिदेखि उपचारका क्रममा रहेका मिर्गौलापीडित गुरुङले अहिले नेसनल डायलासिस सेन्टरमा उपचार गराइरहेका छन् । उपचारका क्रममा गुरुङको हालसम्म ३ लाख खर्च भइसकेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५