मार्तडी ः हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षकी भइन् । वर्ष बढे पनि निमकलाको पढ्ने रहर भने मरेको छैन ।
निमकलाको दैनिकी बिहानै घरको कामबाट सुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्छिन् । अनि खाना खाएर विद्यालय जान्छिन् । अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई निमकलाले तोडेकी छन् ।
विद्यालयको बेग्लै पोसाक भए पनि उनी भने धोती र चोलो लगाएर जान्छिन् । निमकला गाउँको ठुलाकोट आधारभूत माध्यमिक विद्यालयमा छोरा सन्तोषसँगै कक्षा ८ मा पढछिन् । पढ्दापढ्दै उमेर नपुग्दै बाबुआमाले विवाह गरिदिएकाले उनको पढाइ र रहर पूरा हुन सकेको थिएन । माइतीघरमा पढ्न नपाएकाले छोरा पाएपछि पढ्ने सोच आएर विद्यालय भर्ना भएको उनले बताइन् । पढ्ने रहर छ भनेपछि जेठो छोरासँग विद्यालय भर्ना गरिदिएको श्रीमान् सिउमलले बताए ।
हिमाली गाउँपालिकाको कोटगाउँका ७० परिवारमध्ये अहिलेसम्म १ जना महिला पनि ८ कक्षा पास भएका छैनन् । निमकलाले भनिन्, ‘गाउँमै पहिलो एसएलसी पास गर्ने इच्छाले म विद्यालय भर्ना भएकी हुँ ।’ माइतीगाउँको बिच्छँयामा माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेको उनले बताइन् । विवाह गरेर आएपछि उनको पढाइ बीचैमा छुट्यो ।
उनी भन्छिन्, ‘पहिला यहाँ प्राथमिक तहसम्म मात्र विद्यालय रहेको थियो । अहिले गाउँमै कक्षा ८ सम्म पढाइ हुने भएपछि पढ्ने रहर जाग्यो ।’ निमकला कोटगाउँकी महिला स्वयंसेविकासमेत रहेकी छन् । उनका ३ सन्तान छन् । जेठो छोरा ८, छोरी सुनकली ६ र कान्छो छोरा धनराज कक्षा ४ मा सोही विद्यालयमा अध्ययनरत छन् ।
निमकलाका श्रीमान् सिउमलले भने, ‘उनको पढ्ने रहर थियो, गाउँमै निमावि तहको विद्यालय पनि भएन, बच्चा भएकाले पढ्न पाएकी थिइनन्, आफूले पनि पढ्नका लागि सहयोग गरेपछि छोराछोरीसँगै विद्यालय जाने गरेकी हुन् । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद अवस्थीले निमकलाको पढ्ने इच्छा भएकाले विद्यालयमा भर्ना गरिएको बताए । हिमाली गाँउपालिका–२ कोटगाउँ, सदरमुकाम मार्तडीबाट ४ दिनको दूरीमा रहेको छ । कोटगाउँका ३ पुरुषले मात्र एसएलसी पास गरेका छन् ।
उक्त गाउँमा स्थानीय युवा प्रायः सबै बेरोजगार छन् । गाउँमा कुनै समस्या आउँदा पैसा कमाउन भारतमा जाने गर्छन् । गाँउमा कक्षा ८ सम्म पढाइ हुने भए पनि माध्यमिक विद्यालय जान १ दिनको दूरीमा रहेको बिच्छँया मावि जानुपर्ने बाध्यता छ । उच्च शिक्षाका लागि उक्त गाउँका विद्यार्थीलाई २ दिन टाढा पर्ने कोल्टीमा जानुपर्ने बाध्यता छ ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५