पाल्पा ः पाल्पा जिल्ला बगनासकाली गाउँपालिका बराङदीकी तुलसी गैरेको तानसेन मेहलधारामा हस्तकला केन्द्र सञ्चालनमा छ । त्यहाँ उनी क्रिष्टल माला, औंठी, टप, चुरा, गुडिया तथा खेलौना बनाउँछिन् ।
श्रम र पसिना खर्चेर २/४ पैसा कमाउन सकिने अनुभव उनले सुनाइन् । गैरे हस्तकलाका उत्पादित सामग्री बिक्री गरेर केही पैसा कमाउन सफल भएकी छन् । यसबाट आत्मनिर्भर बनेपछि सन्तुष्टि मिलेको गैरेको भनाइ छ ।
२०५९ सालमा बगनासकाली गाउँपालिका पोखराथोककी १८ वर्षीया गैरे र बराङ्दीका २१ वर्षीय दीपक घिमिरेबीच विवाह भयो । विवाहको ५ वर्षपछि गैरेले जीवनसाथी दीपकलाई गुमाउनु पर्दा ठूलो पीडा भयो । श्रीमान् गुमाउनुपर्दा सहाराविहीन मात्र होइन पारिवारिक समस्याको समेत चाङ लाग्यो । समस्यामाझ शिक्षण पेसा रोज्न बाध्य हुनुपर्यो । छोरासँगै तानसेनमा बसेकी गैरेका लागि छोरा र विद्यालय दुवैतर्फ समय निकाल्न निकै मुस्किल भयो । अहिले ९ वर्षको शिक्षण पेसा छाडेर उनी हस्तकला व्यवसायमा रमाउन थालेकी छन् ।
उनी बिहानको समयमा छोराको पढाइलेखाइमा व्यस्त रहन्छिन् भने दिउँसो हस्तकला केन्द्रको व्यवस्थापनमा खट्ने गर्छिन् । छोरा आदर्श कक्षा ८ मा अध्ययनरत छन् ।
आजकल घरमा सजावटका रूपमा गुडिया तथा खेलौनाको प्रयोग गर्ने क्रम बढ्दो छ । क्रिष्टल माला, औंठी, टप, चुरा खोज्नेहरू तानसेनको मेहल्धाराको तुलसी हस्तकला धाउँछन् । हस्तकला सञ्चालनपछि मासिक २५ हजार कमाइ हुने गैरेको भनाइ छ ।
हस्तकलाबाट समान बेच्ने र पैसा कमाउने मात्र गैरेको उद्देश्य होइन । अन्य एकल महिलालाई पनि रोजगार र स्वरोजगार बनाउने उनको चाहना छ । आफूले जानेको हस्तकलाको सीप अरू महिलालाई पनि बाँड्न तयार छु, आफूजस्तै एकल महिलालाई सक्षम बनाउन प्रशिक्षण सञ्चालनमा समय निकाल्छु, तालिम चलाउन गाउँगाउँमा पुग्छु, तुलसीले भनिन् । हालसम्म १५० एकल तथा अन्य महिलालाई तालिम दिइएको उनको भनाइ छ ।
केहीलाई आफूले जानेको सीप सिकाउन र अन्य महिला पनि आत्मनिर्भर होउन् भनेर हस्तकला प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो, तुलसीले भनिन् । सस्तो र राम्रो पनि हुने भएकाले अधिकांश महिलाको क्रिष्टल सामग्रीप्रति आकर्षण बढेको पाइन्छ ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हस्तकला सिकाउन व्यस्त गैरे सामाजिक रूपमा एकल महिलाका हकअधिकार सुनिश्चितताका लागि आवाज उठाउने निडर महिलाका रूपमा परिचित छिन् । मानवअधिकारका लागि एकल महिला समूह पाल्पाको अध्यक्ष, मानवअधिकार तथा शान्ति समाजमा सहसचिव तथा राष्ट्रसेविका नेपाल अञ्चलका संयोजकमा रहेर भूमिका निभाउन उनी सफल भएकी छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५