काठमाडौं ः काठमाडौं महानगरपालिकाले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरेको छ । कामपाको ३०औं कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
कार्यविधिमा अपांगता भएको व्यक्ति स्वयं वा अभिभावक तथा संरक्षकमध्ये कसैले अपांगता भएको पुष्टि हुने कागजातसहित सम्बन्धित वडामा निवेदन दिएपछि वडाले सामाजिक विकास विभागमा सिफारिस गर्ने र विभागले परिचय उपलब्ध गराउने व्यवस्था रहेको छ । चित्त नबुझे महानगरका उपप्रमुखको संयोजकत्वमा गठित समन्वयन समितिमा निवेदन दिन सकिनेछ । अपांगतासम्बन्धी प्रमाणपत्र लिन स्थायी ठेगाना भएको ठाउँमा जान नसक्ने व्यक्तिको हकमा त्यसअघि नलिएको यकिन गरी लिन सक्ने व्यवस्था छ । यो परिचयपत्र सामान्य अपांगता भएका व्यक्ति आफैंले लिनुपर्नेछ ।
महानगरको आउँदो नगरसभामा सार्वजनिक निजी साझेदारी, सार्वजनिक यातायात र शहरी योजना आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्ने पनि बैठकले निर्णय गरेको छ । शहरी व्यवस्थापनलाई जनअपेक्षाबमोजिम बनाउन यससम्बन्धी कानुनी व्यवस्था आवश्यक बनाइएको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
प्रवक्ता डङ्गोलका अनुसार बैठकमा रानीपोखरी पुनर्निर्माणका लागि मेयर विद्यासुन्दर शाक्यले उपभोक्ता समितिमा रहने व्यक्तिको नाम प्रस्ताव गरेका छन् । प्रस्तावित नाम अनुमोदन गर्दै बैठकले अजयरत्न स्थापितको संयोजकमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा रोशनकाजी तुलाधर, कोषाध्यक्षमा होमप्रसाद खड्गी तथा सदस्यमा दीपकराज तुलाधर र दीपेन्द्र खड्गी छन् ।
त्यस्तै बैठकले रानीपोखरी पुनर्निर्माणको अनुगमन तथा समन्वय समिति पनि गठन गरेको छ । समितिमा वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५