भरतपुर ः भरतपुर महानगरपालिका–११ बसेनिकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बसेकी छन् । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उनी हिन्दू संस्कारअनुसार आफैं किरिया बसेकी हुन् ।
उनका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर भई शिक्षक पेसामा आबद्ध बाबु लक्ष्मणको निधन भएपछि ठूली छोरी आर्मिन्ता किरियामा बसेकी हुन् । कान्छी छोरी ९ वर्षकी छन् ।
सङ्गीता बाबुले आफूलाई अनेक दुःख, समस्या भोगेर पनि स्याहार गरेकोप्रति कृतज्ञता जनाउन पनि किरिया बसेको बताउँछिन् । बुबाले आफू नमर्दै तिमी मेरो छोरा हो, म मरेँ भने पनि तिमी किरिया बस्नु भन्ने गरेको उनले बताइन् ।
आर्मिन्ताले हिन्दू संस्कारअनुसारका सबै कर्म गरेर बाबुको किरिया गरिरहेको मृतकका काका मानबहादुर देवकोटाले जानकारी दिए । छोराछोरी बराबर ठानेर छोरीकै चाहनाबमोजिम किरिया गरेको उनले बताए । पुरुषप्रधान समाजमा महिला सशक्तीकरणका लागि सन्देश दिने उद्देश्यले छोरीले गर्ने किरियालाई महत्त्व दिएको मानबहादुरको भनाइ छ ।
१५ वर्षीया किशोरीले बाबुको किरिया गरेपछि स्थानीयवासीले पनि आर्मिन्ताको साहसको प्रशंसा गरेका छन् । उनीहरूले आर्मिन्ताको अभियानले महिला पनि पुरुषसरह जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५