काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकोप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव बिहीबार अपराह्न काठमाडौं ल्याई श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाए ।
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाए ।
मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरूले श्रद्धाञ्जली अर्पण गरे ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५