उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भियतनाम पुगेका छन् । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार नै भियतनामको राजधानी हनोई आइपुगेका थिए । दुई नेताका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।
यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्त्वपूर्ण सहमति भएको थियो।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५