काठमाडाै : राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
सांसद दिलकुमारी थापा रावलले भने, अहिलेसम्म पनि मेलम्चीको पानी काठमाडौँसम्म किन आउन सकेन ?, किन अन्यौल भइरहेको छ, जतिसक्दो चाँडो काम सम्पन्न गर्नका लागि म सम्बन्धित निकायसँग आग्रह गर्दछु ।
सांसद जीतेन्दनारायण देवले ललितपुर नख्खुस्थित एनसेलको कार्यालय र देशका विभिन्न स्थानमा भइरहेको बम आतङ्कलगायत हत्या हिंसा बढ्दै गएको भन्दै सरकारको ध्यानाकषर्ण गराए । उनले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबारे सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दृष्टिकोण माग गरे ।
सांसद नन्दा चापागाईंले देशमै युवालाई स्वरोजगारको व्यवस्था गर्न माग गरे । सांसद प्रकाश पन्थले १४० मेघावाटको तनहुँ जलविद्युत् आयोजनाको सम्झौता इटालियन निर्माण कम्पनी सीएमसीसँग भएकामा नेपाल छोडेर फर्केको, सुरक्षाको प्रश्न उठाएकाले पछिल्लो बमकाण्डले विदेशीलाई लगानीका लागि निरुत्साहित गरेको बताए । तनहुँ जलविद्युत् आयोजना सिध्याउने खेल पहिल्यैदेखि भइरहेकाले सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद ठगेन्द्रप्रकाश पुरीले सडक दुर्घटना बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुहुँदै दुर्घटनाकै कारण पछिल्लोपटक प्रदेशसभा सदस्य उत्तरकुमार वलीको समेत निधन भएको प्रसङ्ग उल्लेख गर्दै दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।
सांसद कालीबहादुर मल्लले जाजरकोटमा सुनखानी भएको प्रमाणित भएकामा राज्य बेखबर बनेको उल्लेख गर्नुहुँदै सङ्घीय सरकारले जिम्मा लिई उत्खनन गर्नुपर्ने माग गरे । जाजरकोटको नून, फलाम खानी पनि उत्खनन गर्न उनले जोडदार माग गरे । १०० वर्षसम्म पुग्ने फलाम जाजरकोटबाटै उत्पादन हुने सांसद मल्लको भनाइ थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५