धादिङ : दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एशिया कै सबैभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्याई मुलुकलाई आर्थिक रुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।
ह्वासिनसँग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमतिअनुसार धादिङको ताल्तीलाई आफ्नो उत्पादनस्थल तय गरी उत्पादनको अन्तिम तयारी गरेको हो ।
१४ अर्ब ८२ करोड ६० लाख कूल पूँजी रहेको ह्वासिन दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योगका सूचना अधिकारी तुलसीजङ्ग थापाले जनाए।
विश्वकै अत्याधुनिक सिमेन्ट प्रविधिबाट सिमेन्ट उत्पादन गरिने ह्वासिन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि थापाको भनाइ छ । सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको छ ।
सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्षरुपमा ३०० र अप्रत्यक्ष रुपमा १ हजारले रोजगारी पाउने छन् भने उद्योगका लागि मलेखुबाट ताल्तीसम्म छुट्टै सडक १० किलोमिटर निर्माणका लागि तयारीसमेत गरेको छ । ह्वासिन सिमेन्ट उद्योगले उद्योगकै कच्चा पदार्थबाट विद्युत् उत्पादनसमेत गर्ने र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । फागुन १७ गते उत्पादन शिलान्यास गरिने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५