राँझा : लामो दूरीमा २ जना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेसन एप्स’ को मद्दतमा प्रहरीले कारबाही सुरु गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा २ चालक नराखेको भेटिएका ३५ सार्वजनिक बसका चालक कारबाहीमा परेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लामो दूरीमा २ सवारी चालक नराख्ने सार्वजनिक यातायातलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले गत माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन (बस)मा २ सवारी चालक राखे/नराखेको जानकारी लिन चप्परगौडीमा ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा ल्याएको छ । उनका अनुसार, लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५