तुलसीपुर : यहाँका एक व्यक्तिले व्यावसायिक रूपमा कागती खेती सुरु गरेका छन् । लमही नगरपालिका–९ हरदवास्थित अम्मर कुँवरले कागती खेती सुरु गरेका हुन् ।
अन्य बालीभन्दा कागती खेतीबाट राम्रो आम्दानी हुने देखेपछि करिब एक बिघा जमिनका कागती खेती सुरु गरेको कुँवरले बताए । उनले ३५० बोट कागती लगाएर यस वर्षदेखि कागती बिक्री गर्न सुरु गरेका हुन् । केही कागती फल्न सुरु गरेको र केही बिरुवा सानै भएको उनले बताए ।
उनले यस वर्ष करिब ३० हजार बराबरका कागती बिक्री गरेको बताए । कृषिमा नमुना गाउँ बनाउने उद्देश्यले आफूले सो खेती सुरु गरेको उनको भनाइ छ । कागती प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । थोरै लगानी र राम्रो आम्दानी हुने भएकाले पनि अन्य बालीभन्दा कागती खेती सुरु गरेको उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५