काठमाडौं : आईसीसी टि-२० महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ ।
थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा नेपालले दिएको ११६ रन पछ्याउने क्रममा कुवेत ९ विकेट क्षतिमा ८६ रनमा समेटियो ।
टस हारेर पहिलो व्याटिङ गरेका नेपालकी ओपनर सीता रानामगर खाता नखोली आउट भइन । अर्की ओपनर काजल श्रेष्ठले १८ रनको पारी खेलिन् । इन्दू बर्मा र रोमा थापाले समान ७ रन बनाउँदा सरिता मगरले पनि खाता खोल्न सकिनन् । नेपालले ४६ रन हुँदा ५ विकेट गुमाईसकेको थियो ।
तर छैटौं विकेटका लागि बिन्दू रावल र नेरी थापाले ३७ रनको साझेदारी गरी इनिङ उकासे । नेरी १९ रनमा आउट भएपछि आएकी कप्तान रुविना क्षेत्रीसँग पनि बिन्दूले ३२ रनको साझेदारी गरिन् । रुविनाले १३ बलमा २२ रन बनाइन् । बिन्दू ४९ बल खेलेर २८ रनमा अविजित रहिन् ।
नेपालले यसअघि युएई, मलेसिया, चीन र हङकङलाई पराजित गरे पनि थाइल्याण्डसँग ५४ रनले पराजित भएको थियो । सात राष्ट्र सम्मिलित यस प्रतियोगिताको शीर्ष टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ । नेपाल दोस्रो चरणमा पुग्ने सम्भावना समाप्त भैसकेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५