मनाङ : महिनौंको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौंरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौं दिनसम्म लगातार परेको हिमपातले चौंरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् ।
जिल्लामा रहेका चौंरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौंरी लडेर मरेका हुन् । जिल्लाभरि करिब १ हजार ५०० देखि २ हजार सङ्ख्यामा रहेका चौंरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन । कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन् । जिल्लाको माथिल्लो भेगमा रहेका चौंरीको त कहाँ कस्तो अवस्थामा छ भन्ने अत्तोपत्तो छैन ।
तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौंरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौंरीपालक सुरेश थकालीले बताए । उनका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौंरी हराएका छन् । तिनीहरूको खोजीकार्य जारी रहेको छ । त्यस्तै, तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौंरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौंरीको अवस्था अज्ञात रहेको थकालीले बताए ।
‘एउटा चौंरीको १ लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, यतिका धेरै चौंरी हराउँदा या मर्दा जो कसैले मन थाम्न सक्ला र ? केही गरौंला भनी पुख्र्यौली पेसा अँगालेका हौं, खै दैव लागेपछि कसको के लाग्दोरहेछ ?’ स्थानीय धनबहादुर गुरुङले भने, ‘५ त आँखा अगाडि नै मरे भने अरू जिउँदै छन् कि मरिसके केही अत्तोपत्तो छैन । हिमपातले न खोज्न जान सकिएको छ न त चौंरी फर्किएर गोठमा आएका छन् ।’
चौंरीपालक किसानका अनुसार हिमपातले करोडौंभन्दा बढी नोक्सान पुर्याएको छ । हराएका चौंरीको नामनिसान भेट्टाउन सकिएको छैन । ‘हिउँले पुरिएर बसेका छन् कि कतै भीरमा खसे, केही अत्तोपत्तो भएन,’ अर्का चौंरीपालक धर्मजङ गुरुङले भने, ‘खोज्नका लागि पनि दिनदिनै जस्तो हिमपात भइरहेको छ । हिँड्डुल गर्न नै गाह्रो छ । कसरी जाने ?’ उनका अनुसार जिउँदै भए पनि यतिका दिनसम्म भोकभोकै मरिसके होलान् ।
तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौंरी हराएका तथा मरेको तथ्याङ्क किसानको छ । माथिल्लो भेगमा त झन् कस्तो छ, थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौंरीपालक सुरेश थकालीले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५