रुकुम : पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।
कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । आइतबार साँझ ९ बजे रावतमाथि कुटपिट भएको थियो । उनीहरू तीनै जना शहीदमार्गको कोसी एन्ड न्यौपाने निर्माण सेवा प्रालिमा कार्यरत थिए । मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्दा रावतलाई लठ्ठीले हिर्काइ अचेत अवस्थामा पुर्याइएको थियो ।
कुटपिटबाट गम्भीर घाइते रावतको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रानालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ भने पुनलाई सोमबार नियन्त्रणमा लिई कानुनी प्रक्रिया सुरु गरेको प्रनाउ खड्काले बताए ।
चरेससहित महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले चरेससहित १ महिलालाई पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबाराबाट ८०० ग्राम चरेससहित गाउँपालिका–६ की ५३ वर्षीय विद्या गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङलाई चरेससहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रनाउ खड्काले जानकारी दिए । घरमा लुकाइछिपाइ खरिद गरी बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५